काठमाडौं- चिया विश्वभर सबैभन्दा बढी पिइने र रुचाइने पेय पदार्थ हो। मान्छे चियाको चुस्किसँगै मिठामिठा गफ गर्न मन पराउँछन्। चिया भेटघाट र गफगाफको माध्यम पनि हो। मानिसको चियासँग अनौठो लत हुन्छ। बिहान उठ्ने बित्तिकै मानिस चियाको चुस्किबाट आफ्नो दिनको सुरुवात गर्न चाहन्छन्। चिया मानिसको उद्यम पनि बनेको छ। जहाँसुकै चिया पसलहरू मज्जैले चलिरहेका हुन्छन्।
काठमाडौंको बुद्धनगरमा कट्कि चिया पसल छ। जहाँ बिहानैदेखि मानिसको बाक्लो भिडभाड हुन्छ। चिया पारखीहरूलाई मिठो चिया पिलाउन व्यस्त हुन्छन् २० वर्षीय जगदीश।
उनको उमेरका कतिपय युवाहरू विदेशको तयारी गरिरहेका भेटिन्छन्। अधिकांश युवाहरू देशमा भविष्य नै नभएको तर्क गरिरहेका हुन्छन्। त्यही भिडमा जगदीश भने नेपालमै भविष्य खोजिरहेका छन्।
गजदिशको घर सुदूरपश्चिमको कञ्चनपुरमा हो। उनी केही वर्ष पहिले जापानको सपना बोकेर काठमाडौं छिरेका थिए। होटेल म्यानेजमेन्ट पढेका जगदीशले जाप्निज भाषा सिके। अप्लाइ पनि गरे। तर, उनको सिइओ आएन। त्यसपछि उनको सपना र यात्रा मोडियो। काठमाडौंमै एउटा चिया पसलमा काम गर्न थाले। काम गरेर पनि सोचेको जस्तो कमाइ भएन। निराश बनेर जगदीश कञ्चनपुर फर्किए।
गाउँमा पनि उनलाई खाली बसिरहन मन लागेन। केही काम गर्नुपर्छ भनेर सोचिरहेका थिए। त्यही बेला उनको मनमा चिया पसल सञ्चालन गर्ने योजना पलायो। र, उनी फेरि काठमाडौं आए। दाइ महेशसँग मिलेर बुद्धनगरमा चिया कट्कि चिया पसल खोले।
यतिबेला उनको चिया पसल मज्जैले चलिरहेको छ। उनी ग्राहको सन्तुष्टि र भिड देखेर निकै खुसी छन्। उनको चिया पसलको नाम पनि निकै युनिक छ। धेरैलाई कट्कि भन्ने के हो लाग्छ। यसबारे उनी भन्छन्, ‘मेरो घर सुदूरपश्चिम हो। त्यहाँ कट्टी चिया भनेको सबैभन्दा पुरानो र निकै रुचाइने चिया मानिन्छ। पहिले पहिले चिनी बिनाको चिया बनाइन्थ्यो। गुड र मिश्रीलाई टोक्दै चियाको चुस्कि लिइन्थ्यो। यसरी खाइने चियालाई हाम्रो भाषामा कट्कि भनिन्छ। अहिले पनि गाउँमा यो चिया निकै रुचाइन्छ। सोही शब्दलाई लिएर हामीले चिया पसलको नाम कट्कि राखेका हौं।’
उनी नेपालमा पढेर पनि काम पाउन गाह्रो हुने भएपछि विदेशको सोच बनाएको बताउँछन्। त्यो पनि सफल नहुँदा आफ्नो समयमात्र खेर गएको उनलाई लाग्छ। सामान्य परिवारका जगदीशलाई जापानको तयारीका लागि काठमाडौंको खर्च बेहोर्न गाह्रो थियो। त्यसैले उनले केटेश्वरको एउटा चिया पसलमा काम गर्दै जापानको तयारी गरेका थिए। त्यहाँ उनले ६ महिनासम्म काम गरेका थिए।
त्यसले उनलाई चिया पसल सम्बन्धी आइडिया मिल्यो। कञ्चनपुर फर्किसकेपछि उनका ठूलो बुबाका छोरा महेशले आफैँ चिया पसल सञ्चालन गरौं भने। जगदीशसँग पर्याप्त पैसा थिएन। चिया पसलमा काम गरेर थोरै रकम जम्मा गरेका थिए।
पछि सल्लाह अनुसार दुवै दाजुभाइले चिया पसल सुरु गरे। बजारमा जहाँ सुकै चिया पसल भएकाले उनीहरूले नवीन ढंगबाट व्यवसाय सुरु गर्ने सोच बनाए। त्यसपछि उनीहरूले पसलको नाम नै युनिक राखे। र, यतिबेला उनीहरू चियाको पुराको कन्सेप्टलाई बजारीकरण गरिरहेका छन्।
हामीहरूले माघ १ गते चिया पसल खोलेका हुन्। सुरुमा ३ लाख लगानीबाट खोलेको चिया पसलले छोटो समयमै मनग्य आमदानी दिइरहेको जगदीशले बताए। ‘सुरुका तीन महिना चिया बेचेर सटरको भाडा तिर्न नपुग्ला भनेर पैसा जोगाएर राखेका थियौं। तर, सुरुकै महिनामा व्यवसायबाट राम्रो आमदानी भयो। सोही महिना हामीले आम्दानीबाट ४५ हजारसम्मका पसललाई आवश्यक पर्ने सामग्री किन्यौं। हाल हामीले मासिक ८० देखि ९० हजारसम्म आम्दानी गर्ने गरेका छौं,’ उनले भने।
कट्की, कट्की प्रिमियम, कट्की स्पेसल गुड र मिश्री, मसला चिया, दूध चिया, कालो चिया, लेमन टी, हट लेमन, हट लेमन उइथ हनी, ग्रिन टी, ग्रिन टी उइथ हनी गरेर विभिन्न प्रकारका चिया बेच्दै आएको उनले बताए। यसका साथै हाल बेकरीका चिज पनि राखिएको उनले बताए।




















प्रतिक्रिया