Logo

अर्थ

‘ग्लोबल मनी विक’ : प्रभावकारी बन्यो नबिल बैंकको वित्तीय साक्षरता



काठमाडौं- ‘ग्लोबल मनी विक- २०२४’ गत चैत ५ गते, सोमबारबाट सुरू भएर ११ गते सकिएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो १२औं संस्करण हो।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक (जीएमडब्ल्यू) विश्वभर मनाइँदै आइएको छ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। यस कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने गरेको छ।

यस अवसरमा बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्। ‘ग्लोबल मनी विक’का अवसरमा नबिल बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम आयोजना गरेको हो।

‘ग्लोबल मनी विक’मा केन्द्रित रहेर अनलाइन पानाले कलस्टर पशुपतिका गतिविधिलाई समेटेको छ। पशुपति कलस्टरका संयोजक प्रतुल भट्टले आफूहरू अन्तरगत १३ वटा ब्रान्च रहेको बताए। ‘हाम्रो कलस्टरमा नबिल बैंकका १३ ब्रान्च छन्। चावहिलदेखि सुरु भएर साँखु-काँडाघारी एरिया समेटिएको छ। यस अन्तरगत हामीले दुई कार्यक्रम गरेका छौं,’ उनले भने।

मैतिदेवी र सिनामंगल ब्रान्चको सहकार्यमा आफूहरूले माउन्ट वलिभ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम गरेको भट्टले बताए। ‘कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरेर हामीले कार्यक्रम गरेका थियौं। कार्यक्रममा विद्यार्थीहरूको उत्साहप्रद र उल्लेख्य सहभागिता पायौं,’ उनी भन्छन्।

साँखु, मूलपानी र थली ब्रान्चको संयुक्त सहकार्यमा मूलपानीमा रहेको नेपाल राष्ट्र निर्माण कलेजमा ११ र १२ कक्षाका विद्यार्थीलाई लक्षित गरेर वित्तीय साक्षारताको कार्यक्रम गरिएको उनले बताए।

‘यसको मुख्य उद्देश्य राष्ट्र बैंकलगायत विश्वभरकै बैंकहरूले वित्तीय साक्षारता प्रदान गर्नु रहेको छ। सानो उमेरदेखि नै मानिसलाई पैसाको महत्त्व, बचतको महत्त्व, ऋण के हो र ऋण लिँदा के-के कुरामा ध्यान दिनुपर्छ?, कमाइलाई कसी व्यवस्थापन गर्ने?, कसरी लगानी गर्ने?, बैंक भनेको के हो?, डिजिटल बैंकिङ भनेको के हो?, साइबर सुरक्षा के हो? भन्ने विषयमा जानकारी गराउनु नै यस कार्यक्रमको उद्देश्य हो। हामीले विद्यार्थीहरूमा यी विषयमा जानकारी प्रदान गरेका थियौं,’ उनले भने। यी विषयमा अहिलेदेखि नै जानकारी दिँदा पछि आफ्नो दु:ख गरेको पैसाको कसरी व्यवस्थापन गर्ने विषयमा जानकारी प्राप्त हुने आफूहरूको विश्वास रहेको उनले बताए।

बाल बचत खाता खोलियो भने उच्च शिक्षा अध्ययनका लागि पनि सहज हुने भएकाले त्यो विषयमा पनि जानकारी प्रदान गरिएको भट्ट बताउँछन्। विद्यार्थीहरूले यी कुरा आफ्नो अभिभावकलाई बुझाउन सकेमा त्यसले जीवनमा ठूलो परिवर्तन ल्याउने भट्टको ठहर छ। उनले माउन्ट वलिभ स्कुलमा ८० र नेपाल राष्ट्र निर्माण कलेजमा १०५ जना सहभागी भएको बताए।

‘देशका हरेक कुनाकन्दरामा वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिलले उक्त कार्यक्रमको आयोजना गरेको हो। २१ ‘क्लस्टर’ तोकेर ती सबै क्लस्टरबाट अनिवार्य रूपमा फाइनान्सियल लिट्रेसीका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेका थियौं। ती कार्यक्रम सफलताका साथ सम्पन्न भएका छन्,’ उनी भन्छन्।

विद्यालयदेखि नै वित्तीय सारक्षतासम्बन्धि ज्ञान प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ बैंकले स्कुल र कलेजहरूमा यस्ता कार्यक्रम सञ्चालन गरेको उनले बताए। बैंकले यस अभियानअन्तर्गत बैंकिङ–वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न गरेको थियो।

यस्ता खालका कार्यक्रमले मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने उनी बताउँछन्। ग्लोबल मनी विकको मुख्य थिम भनेको नै ‘पैसा बचत गरेमा भविष्य सुरक्षित हुन्छ’ भन्ने भएकोले पनि यस्ता खालका कार्यक्रम विद्यालयमा सञ्चालन हुँदा यसले विद्यार्थीमा बचत गर्ने बानीको विकास हुने उनले बताए।

उनी भन्छन्, ‘हरेक नागरिकमा वित्तीय शिक्षा तथा पहुँच हुनु आजको आवश्यकता हो। वित्तीय साक्षरताका अभावले कतिपय मानिसहरू समस्यामा पर्ने गर्छन्। त्यसैले पनि मुलुकभर वित्तीय सचेतना कार्यक्रमको आयोजना गरिनुपर्छ। विद्यालयस्तरमा यस्ता कार्यक्रम हुँदा विद्यार्थी मात्र होइन परिवारमा समेत बचत गर्नुपर्छ भन्ने बानीको विकास हुन्छ।’

नेपाल राष्ट्र निर्माण कलेजबाट कार्यक्रममा सहभागी भएका प्रमोद वाग्ले कार्यक्रमले सानै उमेरदेखि बचत गर्नुपर्छ भन्ने कुरा सिकाएको बताए। उनले आफ्ना विद्यार्थीहरूले कार्यक्रमबाट थुप्रै लाभ लिएको बताए। ‘विद्यार्थीहरूलाई कसरी रकम बचत गर्ने र त्यसको सदूपयोग कसरी गर्ने भन्ने विषयमा ठूलो ज्ञान प्राप्त भएको छ,’ उनले भने।

‘ग्लोबल मनी विकको थिम अन्तर्गत नै विद्यार्थीकालदेखि नै कसरी पैसाको बचत गर्ने भन्नेबारे जानकारी पाइयो। आफ्नो कमाइ नभएको पनि परिवारले दिएको पकेट खर्चबाट पनि स-सानो पैसा बचत गरेर पनि धेरै बनाउन सकिने रहेछ। हामीलाई प्रतिदिन घरबाट एक सय रुपैयाँ पाउँछौं। त्यसबाट पचास खर्च गरेर पचास रुपैयाँ बचत गर्न सकिने रहेछ। प्रत्येक दिन पचास रुपैयाँ खर्च गर्ने हो भने पनि मासिक एक हजार पाँच सय हुने रहेछ,’ उनले भने।

यस्ता खालको कार्यक्रमहरू बेलाबेलामा भैरहने हो भने आम मान्छेमा बचतको महत्वदेखि बेलाबेलामा हुने बैंकिङ स्क्यामबाट समेत बच्न सकिने उनी बताउँछन्।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १५:२१   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।