Logo

प्रमुख समाचार

बालबालिकालाई कुन उमेरमा विद्यालय पठाउने?



बालबालिका काचो माटो जस्तै हुन्छन्। अभिभावकले जस्तो बनायो बालबालिका त्यस्तै हुन्छन्। बालबालिकाको दिमाग निकै संवेदनशील हुन्छ। उनीहरूलाई प्रेसर हुने वा झिजो लाग्ने कार्यमा संलग्न गराउनु हुँदैन।

त्यसैले विद्यार्थीहरूलाई विद्यालय कुन उमेरमा पठाउने भन्ने विषयमा पनि अभिभावकहरू संवेदनशील हुनुपर्छ। सानै उमेरमा आमासँग अलत तुल्याएर विद्यालय पठाउँदा बालबालिकामा नकरात्मक प्रभाव पर्दछ। उनीहरू आमाको यादले टोलाउने गर्दछन्। एक्लो महशुस गर्छन्। सानैमा विद्यालय पठाउँदा उनीहरूलाई साथीभाइको बीचमा घुलमिल हुन पनि गाह्रो हुन्छ।

त्यसैले बालबालिकालाई ५ वर्षमा किन्डरगार्टेनमा पठाउनु पर्छ। ६ वर्षको उमेरमा बालबालिकालाई कक्षा १ मा पठाउनुपर्छ। त्यो उमेरसम्म उनीहरू बुझ्ने भइसकेका हुन्छन्।

बालबालिकालाई किन्डरगार्टेन कहिले सुरु गर्ने भन्ने निर्णय लिँदा थुप्रै कुरामा ध्यान दिनुपर्छ। भर्ना गर्नु अगाडि आफ्नो बच्चाको विकासमा ध्यान दिनुपर्छ। बच्चा सञ्चार गर्न सक्षम छ वा छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। सामाजिक कौसलता र सुन्ने क्षमता कस्तो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। अरु मानिससँग खुलेर बोल्ने बानीको विकासमा ध्यान दिुनपर्छ। आफैँ शोचालय जान सक्छ कि सक्दैन, आफ्नो रिषलाई कसरी नियन्त्रण गर्न सक्छलगायत विभिन्न कुरामा ध्यान दिनुपर्छ।

विभिन्न विकसित देशको विद्यालय जाने उमेर फरक–फरक छन्। तर, धेरैजसोमा भएको मान्यता भनेको बालबालिका कम्तीमा ४ वर्ष पूरा नगरी किन्डरगार्टेन जान योग्य हुँदैनन्। अझ डेनमार्कमा त ६ वर्ष नपुगी विद्यालयमा भर्ना गर्न पाइँदैन र हालै त्यहाँ गरिएको एक अध्ययनले त्यो उमेरलाई ७ वर्ष बनाउन सुझाव दिएको छ। विद्यालय जाने सही उमेर देशको शैक्षिक प्रणालीसँग जोडिएको हुन्छ। धेरैजसो विकसित देशमा १ वर्षको शिक्षापछि कक्षा १ बराबरको पढाइ सुरू हुन्छ।

वास्तवमा मन्टेस्वरी, किन्डरगार्डन वा प्रिस्कुल भनिने ‘अर्ली स्कुलिङ सिस्टम’मा पढाउने र लेखाउनेभन्दा पनि दैनिक जीवनमा चाहिने सीप र सामाजिक व्यवहार सिकाउनुपर्ने हो। हाम्रो समाजमा नर्सरीलाई औपचारिक विद्यालय प्रवेशका रूपमा लिइन्छ। सुरुको कक्षा नर्सरी भनेपछि त्यसमा २ वर्षदेखिका बालबालिका पढाइन्छ र धेरैजसो अवस्थामा विभिन्न उमेरका बालबालिकालाई एकै कक्षामा राखेर एउटै तरिकाले पढाउने चलन छ। जब हामी विभिन्न उमेर समूहका बालबालिकालाई एकै स्थानमा राखेर पढाउन थाल्छौं र हामीले सिकाएका सबै बालबालिकाले एकैनासले जान्नुपर्छ भन्ने मान्यता राख्छौं, साथै कसैले पढ्न÷लेख्न नसकेमा चञ्चल वा बदमास वा छुकछुकेको संज्ञा दिन्छौं, तब हामी उनीहरूलाई अन्योलको वातावरण दिइरहेका हुन्छौं र उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियामा बाधा पुर्‍याइरहेका हुन्छौं।

यसरी साना कक्षामा फरक उमेर समूहका बालबालिका हुनु भनेको ठूलो अन्तर हो। किनकि २/३ वर्षको अवस्थामा १/२ महिनाको फरक पनि विकासक्रमका हिसाबले ठूलो फरक पार्ने अवधि हुन्छ। यसरी हेर्दा ३ वर्षको उमेरमा विद्यालय जानु र साढे ३ वर्षको उमेरमा विद्यालय जानुले उसको सिकाइमा निकै फरक पार्छ। त्यसो त एउटै उमेर समूहमा पनि बालबालिकाका बानी, स्वभाव र सिक्ने तरिका फरक–फरक हुन सक्छन्। तर, जे भए पनि सानो उमेरमा बालबालिकाले सही रूपमा कक्षा १ पुग्न आवश्यक मानिने शिक्षा हासिल गर्न लामो समय लाग्छ र त्यहीअनुरूप बालबालिकाले लगभग उही कुरा अथवा १ वर्षमा सिक्न सकिने कुरालाई २/३ वर्ष लगाएर सिक्छन्।

सुरक्षित वातावरणले बालबालिकामा सामाजिक र भावनात्मक सिपहरूको निर्माण गर्छ। प्रिस्कुल कार्यक्रमहरूले तपाईंको बच्चालाई आत्मविश्वास र स्वतन्त्रता निर्माण गर्न पनि मद्दत गर्छ। त्यसैले तपाईंको बच्चाले आफूलाई सक्षम र बौद्धिक महसुस गर्छ। सुरक्षित वातावरणले विद्यालय समयलाई बालबालिकाले थप सजिलोसँग ह्यान्डल गर्न सक्षम हुन्छन्।

बालबालिकालाई विद्यालय पठाउनुभन्दा पहिला धेरै कुरा सिकाउनुपर्छ। तपाईं उनीहरूको सामाजिक क्षमताको विषयमा तपाईंलाई चिन्ता लाग्छ भने कुनै संगठित गतिविधिमा उनीहरूलाई सामेल गराउनुपर्छ। उनीहरूलाई अन्य बालबालिकासँग पनि खेल सिकाउनुपर्छ। तपाईंलाई आफ्नो बालबालिकाले शिक्षकले सिकाएको कुरा राम्रोसँग बुझ्दैन भन्ने लाग्छ भने उनीहरूलाई निर्देशन सिकाउन केही खेल घरमा नै खेलाउन सकिन्छ।

धेरै अभिभावकको लागि सबैभन्दा ठूलो समस्या आफ्ना बालबालिकाको लागि सबैभन्दा राम्रो विद्यालय कुन हो भनेर छान्नु हुने गरेको छ। त्यसको लागि आफ्नो घर नजिकैका विद्यालयको सूची बनाउनुपर्छ। त्यसपछि विद्यालय छनोट गर्दा पढाइको गुणस्तर र बालबालिकाले अध्ययनमा कुनै समस्याको सामना गर्नु नपरोस् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। त्यसका साथै उक्त विद्यालयमा अर्को कुनै बालबालिकाले अध्ययन गरेको छ भने त्यसलाई पनि प्राथमिकतामा राख्नुपर्छ।

अभिभावकले आफ्नो बालबालिकालाई कुनै पनि विद्यालयमा पढाउनुभन्दा अगाडि उक्त विद्यालयको भ्रमण गरी विद्यालयको विषयमा धेरै कुरा बुझ्ने प्रयास गर्नुपर्छ। साथै विद्यालयको सबै विवरण राम्रोसँग अध्ययन गर्नुपर्छ। उक्त विद्यालयका विद्यार्थीले कसरी अध्ययन गरिरहेका छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। साथै यो विद्यालयमा आफ्ना बालबालिकालाई पढाइरहेका अन्य अभिभावकहरूसँग पनि यस विषयमा छलफल गर्नुपर्छ।

(अनलाइनपानाका लागि भूमिका के. विष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १३:०८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।