Logo

मनोरञ्जन

अस्कर कलेजले दश सहरमा सिनेमा साक्षरता अभियान चलायो



काठमाडौं । अस्कर कलेजले नेपालका दश सहरमा सञ्चालन गरेको दुई हप्ते सिनेमा साक्षरता अभियान सम्पन्न भएको छ।

नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले सञ्चालित अभियान सफलतापूर्वक सम्पन्न भएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताए।

न्यौपानेका अनुसार मुख्य फिल्म कसरी बन्छ र फिल्म पनि पढ्ने विषय हो भनेर बुझाउनु यस अभियानको मुख्य उद्देश्य थियो। ‘यो अभियानले युवा पुस्तामा फिल्मबारे अभिरूचि जगाउन र उनीहरुको बुझाइ फेर्न थोरै भए पनि योगदान गरेको हामीले महसुस गर्यौं,’ उनले भने।

जसरी मेडिकल साइन्स, म्यानेजमेन्ट, इन्जिनियरिङ पढिन्छ, फिल्म पनि सामान्य मनोरञ्जनमात्र नभएर त्यसरी नै अध्ययन गर्ने विषय हो भनेर धेरैलाई जानकारी समेत नरहेकाले यो अभियान चलाएको उनले बताए।

हरेक सहरमा एक दिनको तालिका बनाएर सञ्चालित कार्यक्रममा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखन, छयांकन, अभिनय, चरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिको थियो।

इभेन्ट म्यानेजर नविन न्यौपानेले अभिनयको इतिहास र सिनेमामा चरित्र निर्माण कसरी हुन्छ भन्नेबारे जानकारी दिएका थिए।

परासर वाग्लेले फिल्म बनाउनु पूर्वचरणका प्रक्रियादेखि निर्माण भइसकेपछिका चरणमा आउने प्राविधिक पक्षहरुको उदाहरणसहित समग्रमा फिल्म कसरी बन्छ भनेर बताएका थिए।

त्यस्तै सुरज कटुवालले विश्व सिनेमाको इतिहास र नेपाली सिनेमाको इतिहासबारे जानकारी तथा पटकथा लेखनको जिम्मा सम्हालेका थिए।

सेलिना घिमिरे र युबिना भट्टराईले साक्षरता अभियानका विविध प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोगीको भूमिका निर्वाह गरेका थिए।

साक्षरता अभियानमा अस्कर कलेजका प्राध्यापक रामराजा दाहाल पनि सहभागी थिए।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार १५:२२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।