Logo

अर्थ

नेपाल भित्रियो आईबीएमको प्रविधि-पाठ्यक्रम



काठमाडौं । विश्व चर्चित प्रविधि कम्पनी आईबीएमले डिजाइन तथा निर्माण गरेको विद्यालयस्तरको प्रविधि-पाठ्यक्रम नेपालमा सुरुआत गरिएको छ ।

भारतको शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन ई–लर्निङले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि तयार गरिएको आईबीएमको पाठ्यक्रम नेपालमा ल्याएको हो ।

आर्टिफिसियल इन्टेलिजेन्सी (एआई र मेसिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन गरी तीन वटा नविनतम सूचना प्रविधि क्षेत्र समेटिएको सो कार्यक्रम नेपाललगायत दक्षिण एसियामै पहिलो पटक सुरु भएको एसियन ई-लर्निङको दाबी छ ।

बुधबार आयोजित कार्यक्रममा एसियन ई–लर्निङका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले कम्पनीले सो पाठ्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सातवटा कोर्स रहेको र एक्स्प्लोरर, डिस्कभरर र इन्नोभेटर गरी तीनै चरणका कोर्स समावेश रहेको बताए ।

कम्पनीका अध्यक्ष त्रिपाठीका अनुसार यो कोर्स विद्यालयहरूमा बिना कुनै थप लगानी सञ्चालन गर्न सकिने र ७० प्रतिशत अनलाइन, ३० प्रतिशत अफलाइन हुने गरी सातामा एक दिन मात्र सञ्चालन गर्ने पुग्ने निर्माण गरिएको छ । यो पाठ्यक्रममा सामेल हुन मासिक प्रतिविद्यार्थी ८५० रुपैयाँदेखि २१५० रुपैयाँसम्म शुल्क लाग्ने उनले जानकारी दिए ।

नेपालका युवा पुस्ता यो अवसरबाट बञ्चित नहोस् र उसले यी प्रविधिको प्रयोग सुरक्षित, विश्वसनीय र नैतिक हिसाबले गर्न सकुन् भन्ने उदेश्यले यो कोर्स नेपालमा ल्याएको उनको दाबी छ ।

यस कोर्समार्फत विद्यार्थीहरू कक्षा १२ मा पुग्दासम्म स्मार्ट भइसक्ने र उनीहरू भविष्यमा जुनसुकै क्षेत्रमा काम गरे पनि नविन प्रविधिको प्रयोग गर्न सक्ने हुने गरी पाठ्यक्रम विकास गरिएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १३:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।