Logo

अर्थ

१०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारदेखि सुरु भएको छ । ‘सङ्गम–एकता’ नाराका साथ आयोजना गरिएको यो सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दुई दिवसीय सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका ११ वटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विज्ञहरू, संघका पदाधिकारीहरू तथा नेपाली समुदायका अगुवा लगायत ३०० बढी सहभागी भएका छन् । सम्मेलनमा गैरआवासीय नेपालीका हकअधिकार, नेपालमा लगानी, सामाजिक तथा सांस्कृतिक समृद्धि, महिला, युवा तथा दोस्रो पुस्ताका नेपालीहरूको भूमिकाजस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिनेछ ।

सम्मेलन उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे दिगो एकताका लागि एनआरएनएको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘नेपाल सरकारले बडो तत्परताका साथ तपाईँहरूका बिच एकता खोजिरहेको छ । सङ्गम खोजिरहेको छ । विशेषगरी परराष्ट्र मन्त्रालयले बडो महत्वका साथ यो विषयलाई हल गर्ने, र एकताबद्ध गतिविधि सञ्चालन गर्ने, एकताबद्ध महाधिवेशन सम्पन्न गर्ने र दिगो एकताका लागि पहल गरिरहेको छ ।’

विदेशमा बसेर राजनीति नगरी सामाजिक भावले मात्रै एनआरएन अभियान अघि बढाउन सके नेपाललाई ग्लोबल ब्रान्डिङ गर्न सकिने उनको भनाई थियो । उनले भने, ‘नेपाललाई ग्लोबल ब्रान्डिङ गर्ने काम एनआरनको हो ।’

संविधानले प्रदान गरेको अधिकार गैरआवासीय नेपालीहरूले प्राप्त गर्नेमा कुनै दुबिधा नभएको उनको भनाई थियो । उनले भने, ‘नेपालको सार्वभौमिकताको पृष्ठपोषक कोही छ भने विदेशमा बसेका तपाई नेपाली हो । संविधानले गैरआवासीय नेपाली भनेर परिभाषित गरेको छ र अब हामी ऐन कानुन बनाएर कानुनी प्रबन्धमा ल्याउने छौँ । र त्यसैको एउटा कोपिलाको रूपमा पीएनओलाई प्रवेश गराउनेछौँ ।’

पर्यटकीय र धार्मिक दृष्टिकोणले थाइल्याण्ड र कम्बोडियालाई नेपालसँग जोड्न सकेको खण्डमा सांस्कृतिक, पर्यटकीय र आर्थिक रूपले पनि नेपाल लाभान्वित हुने मन्त्री पाण्डेको भनाई थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १५:५२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।