काठमाडौं । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । एमसीए नेपालका अनुसार अमेरिकाकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको हो।
‘अमेरिकी सरकारले विदेश सहयोगको समीक्षा गरिरहेको अवस्थामा एमसीसीको नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम पुनः सुरु गर्न अनुमति दिएको छ,’ एमसीए नेपालले जारी गरेको सूचनामा छ, ‘तर, यो अनुमतिले यसको समीक्षाबाट कुनै नतिजा प्राप्त भएको भन्ने अर्थ भने लाग्दैन ।’
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू रहेको एमसीए–नेपालले जनाएको छ ।
यसअघि २ फागुन २०८१ मा एमसीसीले नेपाल सरकारलाई इमेल गरी वैदेशिक सहायता पुनर्मूल्यांकन तथा पुनर्संरचना गर्ने डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि एमसीसीबाट हुने खर्च स्थगन गर्न भनेको थियो । त्यसपछि एमसीए नेपालका काम अघि बढ्छन् कि बढ्दैनन् भन्ने विषयमा अन्योल थियो ।
तीनवटा सबस्टेसन तथा १८ किलोमिटर प्रसारण लाइनको ठेक्का लागेर भौतिक निर्माण समेत सुरु भइसकेको अवस्थामा फागुन सुरुमा एमसीसीले नेपाललाई दिने अनुदान तीन महिनाका लागि स्थगन गरेको थियो ।
एमसीसी परियोजना अन्तर्गत ३ सय १५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन, ४०० केभीकै तीन सबस्टेसन र केही सडक सुधारका कार्यक्रम सञ्चालन हुँदैछन् । तीमध्ये तीन सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइनको ठेक्काका लागि केही स्थानमा भौतिक निर्माणका काम पनि सुरु भइसकेको छ ।
बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि एमसीएले १२ मंसिर २०८१ मा बोलपत्र आह्वान गरेको छ । लमही–धानखोला सडक सुधार परियोजनाको पनि ठेक्का लाग्न बाँकी छ ।
त्यसअघि कुल ३ सय १५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि दुई वर्षअघि आह्वान भएको बोलपत्रमा बोलपत्रदाताले हालेको टेन्डरको न्यूनतम प्रस्ताव नै लागत अनुमानको ६० प्रतिशत महँगो परेपछि २६ असोज २०८० मा सबै प्रक्रिया रद्द गरिएको थियो ।
प्रसारण लाइन परियोजनाको पुनः मूल्यांकन गरिएकोमा त्यसअघिको छुट्याइएको बजेट अपुग हुने भएपछि अमेरिकी संसदले थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप्ने प्रस्ताव पारित गरेको थियो ।




















प्रतिक्रिया