काठमाडाैं । चिकित्सकहरूले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम नै रोकिएको छ ।
तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो। तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन् ।
‘फरेन्सिक विभागमा एक्सरे छैन,’ विभाग सम्बद्ध एक चिकित्सकले भने, ‘अर्को ठाउँबाट पोर्टेबल (बोक्न मिल्ने) एक्स रे ल्याउनुपर्छ। हामीले निर्देशकज्यूसँग भनेका छौँ। सायद व्यवस्थापन हुँदै होला।’
पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
केही मिडिया तथा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् ।
रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।




















प्रतिक्रिया