Logo

समाचार

तीनकुने घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई भाटभटेनीको सहयोग



काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी मंगलबार बिहान चेक हस्तान्तरण गरेका हुन् ।

तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई जना युवाको मृत्यु भएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पुर्‍याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए ।

त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १६:५१   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।