Logo

प्रमुख समाचार

पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन लेखा समितिमा बुझाइँदै



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिफलमाथि उठेका प्रश्नहरूकाबीच सो विमानस्थलसम्बन्धी अध्ययन तथा अनुगमन प्रतिवेदन आज संसद्को सार्वजनिक लेखा समितिमा बुझाइँदैछ ।

संसदीय उपसमितिले दिउँसो १ बजे मुख्य समितिलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत असार १४ गते पोखरा र भैरहवा विमानस्थलको अध्ययन तथा छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन प्रतिवेदन भने तयार भएर मूल समितिमा जान लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन छन् ।

उनी नेतृत्वमा उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा छ । यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।

सांसदहरूका अनुसार राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो ।

२४ अर्ब रुपैयाँको लागतमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा उद्घाटन गरिएको थियो । तर सञ्चालनमा आउन नसकेको, पर्यटक तथा व्यावसायिक उडानको अपेक्षित संख्या नपुगेको र राज्यले लगानीको प्रतिफल नपाएको भन्ने गुनासोहरू भइरहेका छन् ।

प्रतिफल नदिएपछि विमानस्थल बनाउन लिइएको ऋणको चुक्ता गर्ने विषयलाई लिएर समेत कतिपयले प्रश्न गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १३:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।