Logo

प्रमुख समाचार

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदबाट पारित



काठमाडौं । ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसले ७९ वटा ऐन एकैपटक संशोधन गर्नुका साथै दुई वटा ऐन खारेज गर्नेछ ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने,‘प्रस्तुत विधेयकमा रहेका व्यवस्थाबाट प्रचलित कानुनमा रहेका विविध प्राविधिक त्रुटि सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास र सुशासनको प्रत्याभूति, वातावरण संरक्षण र नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पुरा गर्न टेवा पुग्ने देखिन्छ ।’

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १५:५३   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।