Logo

प्रमुख समाचार

यस्ताे छ कुलिङ पिरियड, उपदफा चार र चौतर्फी होहल्ला



काठमाडौं । तत्कालीन मन्त्री अनिता देवीले पेस गरेको विधेयकको उपदफा (४) मा विशिष्ट श्रेणी र प्रथम श्रेणीका सेवानिवृत्त कर्मचारीहरूले दुई वर्षसम्म ‘नेपाल सरकारको पूर्वस्वीकृति नलिई’ देहायका काम गर्न हुँदैन’ भन्ने व्यवस्था थियो । जसमा तीनवटा प्रावधानहरू छन् ।

सरकारले पेस गरेको विधेयकमा संशोधन प्रस्ताव राख्ने र हेरफेर गर्ने क्रममा कुलिङ पिरियडको व्यवस्था आयो । कुलिङ पिरियडको अवधारणालाई उपदफा (४) मा राख्ने निर्णय भयो ।

राज्य व्यवस्था समितिले पारित गरेको प्रतिवेदनमा उपदफा ३ पछि देहायको उपदफा (४) थपी त्यसपछिको उपदफाक्रम मिलाउने’ भन्ने व्यवस्था पारित गरेको हो ।

राज्य व्यवस्था समितिको निर्णय अनुसार दफा ८२ को उपदफा ४ मा निम्न बमोजिमको कुलिङ पिरियडको अवधारणा थपेको देखिन्छ ।

‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन ।’

सरकारले पेस गरेको विधेयकको दफा ८२ को उपदफा (४) मुख्यसचिवदेखि सहसचिवहरूलाई आकर्षित हुने (राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पद) बाट अवकाश भएपछि दुई वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई गर्न नहुने कामका बारेमा व्यवस्था थियो ।

कुलिङ पिरियडको व्यवस्था दफा(४) मा राखेपछि सरकारले पेस गरेको उपदफा (४)लाई उपदफा (५) बनाउने भनी राज्य व्यवस्था समितिले नै निर्णय गरेको देखिन्छ ।

राज्य व्यवस्था समितिको प्रतिवेदनमा भनिएको छ, ‘उपदफा (४) लाई उपदफाक्रम मिलाउँदा कायम हुने उपदफा (५)मा रहेको ‘नेपाल सरकारको पूर्वस्वीकृति नलिई’ भन्ने शब्दबाट झिक्ने ।

उपदफा ४ लाई ५ बनाउने र त्यसमा रहेको ‘नेपाल सरकारको पूर्वस्वीकृति नलिई’ भन्ने शब्द झिक्ने बाहेक सरकारले पेस गरेको विधेयकमा कुनै फेरबदल नै नगरी राज्य व्यवस्था समितिले (राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पद) बाट अवकाश हुनेहरूका लागि तयार पारेको उपदफा पारित गरेको देखिन्छ ।

उक्त उपदफाको (क) मा उल्लेखित ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन’ भन्ने व्यवस्था हुबहु पारित भएको देखिन्छ ।

सरकारले पेस गरेको विधेयकमा पनि बाहेक भन्ने शब्द थियो । उपदफा मिलाउने बाहेक अरू संशोधन नगरेपछि प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा पनि त्यही बाहेक भन्ने शब्द हुबहु रहने नै भयो ।

 

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार २०:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।