Logo

अर्थ

रसुवामा बाढीले २०० मेगावाट विद्युत् उत्पादन बन्द



काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादन भइरहेको झण्डै २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ । यस्तै सोही आयोजनाको पुल चर्किएपछि आवतजावत समेत बन्द भएको छ । यसकाे पावरहाउसमा भने कुनै भौतिक क्षति पुगेको छैन, तर टेलरेसमा गेग्रान थुप्रिएको छ ।

त्यस्तै ६० मेगावाट क्षमताको त्रिशूली ३ ए जलविद्युत् आयोजनामा पनि बाढी पसेको छ । आयोजनाको भवनमा बाढी पसेको र ३ बी सबस्टेसन हिलोले ढाकिएको शाक्यले बताए । यसका कारण उत्पादन बन्द भएको छ ।

साथै चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी छरे पनि ठूलो क्षति भने नभएको प्राधिकरणले जनाएको छ । तर त्रिशूली नदी किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको छ ।

रसुवा जिल्लामा रहेको त्रिशूली करिडोर अन्तर्गतका सबै प्रमुख आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हुँदा जम्मा २०० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुन सकेको छैन ।

प्राधिकरणले क्षतिको विवरण संकलन गर्दै पुनः सञ्चालनका लागि आवश्यक उपायहरू तत्काल सुरू गरिने जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ११:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।