काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म १२ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्ने बैंकहरूमा सिद्धार्थ बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल एसबिआई बैंक रहेका छन् ।
घोषित लाभांशमध्ये सिद्धार्थ बैंकको सबैभन्दा बढी २० प्रतिशत रहेको छ । बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नबिल बैंकले १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ । बोनस शेयरका लागि बैंकले १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ छुट्याएको छ । उक्त रकममा लाग्ने करसमेत समावेश छ ।
एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ छ ।
ग्लोबल आइएमई बैंकले ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सानिमा बैंकले पनि १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सानिमा बैंकको हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको हाल कायम चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ छ ।
एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको आधारमा १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस तथा नगद लाभांशका लागि बैंकले समान ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ छुट्याएको छ ।
लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । सिटिजन्स बैंकले ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश दिने भएको छ ।
कुमारी बैंकले भने २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले उक्त लाभांश वितरणका लागि ५५ करोड २१ लाख २३ हजार ३९६ रुपैयाँ खर्च गर्ने जनाएको छ ।
बुक क्लोज र साधारणसभा
लाभांश तथा साधारणसभा प्रयोजनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर १० गते, एनएमबि बैंकले मंसिर ११ गते र लक्ष्मी सनराइज बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २३ गते ४०औँ वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सभा सुरु हुनेछ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले मंसिर २५ गते २६औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । एनएमबि बैंकले पनि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम रहेका लगानीकर्ता सम्बन्धित बैंकको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । नेपाल एसबिआई बैंकले भने हालसम्म बुक क्लोज मिति सार्वजनिक गरेको छैन ।
यसैबीच, नबिल, एभरेष्ट, सानिमा, ग्लोबल आइएमई, सिद्धार्थ, कुमारी, सिटिजन्स र माछापुच्छ्रे बैंकले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् ।



















प्रतिक्रिया