काठमाडौं । एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्र ४ खर्बले वृद्धि भएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ५७ खर्ब रहेको मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु वर्षमा ६१ खर्ब पुगेको हो।
त्यस्तै राजस्व संकलन १ खर्ब ८ अर्बले बढेको छ भने पुँजीगत खर्चमा पनि ३६ अर्बको वृद्धि देखिएको छ । निजी क्षेत्रमा प्रवाहीत कर्जा ८.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ५.६ प्रतिशतभन्दा उल्लेखनीय हो।
रेमिट्यान्समा समेत १५.५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा ७७.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३.१ प्रतिशतले वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, सूचना प्रविधि, कृषि तथा वन लगायत १८ आर्थिक क्षेत्रको सूचक सकारात्मक रहेका छन् ।
अर्थका अनुसार मुलुक भित्र लगानी मैत्री वातावरण बन्दै गएको छ । नीतिगत तथा कानूनी सुधारतर्फ ब्यापक प्रगती भएको छ । नीतिगत सुधारतर्फ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, २०८१, बैंकिङ कसुर तथा सजाय ऐन, २०८२, भन्सार ऐन अघि बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा पेश हुनु, उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन, निजी क्षेत्र तथा निर्माण क्षेत्रका गुनासा सुनुवाइ तथा अघिल्लो वर्षको ३० अर्बभन्दा बढी दायित्व भुक्तानी हुनु अर्थतन्त्रको सकारात्मक संकेत भएको मन्त्रालयको निष्कर्ष छ ।




















प्रतिक्रिया