Logo

प्रमुख समाचार

प्रचण्डलाई ओलीको जवाफ: बनिरहेको प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुर जानुस्



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रश्नको जवाफ दिँदै भने, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनेर प्रश्न गर्नु भयो। म आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।’

‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नु भएन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’ ओलीले कटाक्ष गर्दै भने, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें।’, प्रधानमन्त्री ओलीले भने ।

यसअघि प्रचण्डले प्रतिनिधिसभामा सम्बोधनका क्रममा उनकै नेतृत्वको सरकारले कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरिसकेको तर त्यसपछि सरकार परिवर्तन भएर ओली सरकारले ३०० दिनभित्र रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १७:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।