काठमाडौं । कसैको पर्खाइमा बितिरहेको जीवन र छुटेका मान्छेको सम्झना कति गहिरो हुन्छ? यही संवेदनशील प्रश्नको जवाफ खोज्दै अभिनेत्री उपासना सिंह ठकुरी आफ्नो नयाँ सिनेमा ‘जलाकी’ मार्फत दर्शकमाझ आउने तयारीमा छिन्।
आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस सिनेमामा उनी ‘लिसारा’ नामक मुख्य पात्रको भूमिकामा देखिँदैछिन्।
सुदूरपश्चिमको दार्चुलामा जन्मिएकी उपासनाको अभिनय यात्रा निकै लोभलाग्दो छ। २०७५ सालमा ‘क्याप्टेन’ बाट रजतपटमा डेब्यु गरेकी उनले पहिलो सिनेमाबाटै दर्शकको ध्यान खिच्न सफल भइन्। त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’ मा गरेको अभिनयले उनलाई थप चर्चा दिलायो।
त्यसयता ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘खुस्मा’, ‘के घर के डेरा ः घर नं. २’, ‘कर्मा’ र ‘माइतीघर’ सम्म आइपुग्दा उनले हरेक सिनेमामा फरक–फरक पात्रमार्फत आफूलाई प्रस्तुत गरेकी छन्।
विशेषगरी द्वन्द्वकालको प्रेमकथामा आधारित सिनेमा ‘खुस्मा’ ले उपासनाको करियरलाई नयाँ उचाइ दियो। उक्त सिनेमामा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितिन्।
‘जलाकी’ उपासनाका लागि अर्को एउटा सिनेमा मात्र होइन। यो ‘खुस्मा’ का निर्देशक अशोक थापा मगर र पुरानै टिमसँगको भावनात्मक पुनर्मिलन पनि हो। एउटै टिमसँग दोस्रो पटक काम गर्दा सेटमा परिवारजस्तै आत्मीयता महसुस भएको उनी बताउँछिन्।
‘जलाकी’ मा काम गर्ने क्रममा मगर समुदायको संस्कृति र महिलाप्रति गरिने सम्मानबाट आफू निकै प्रभावित भएको उनले सुनाइन्।
सिनेमामा उपासनाको जोडी गायक तथा कलाकार सोनम तोप्देनसँग बाँधिएको छ। सिनेमा उनीहरूका पात्रबीचको कलेज जीवनमा विकसित अव्यक्त र एकतर्फी प्रेमकथामा आधारित छ।
त्यसो भए के हो त ‘जलाकी’?
उपासना भन्छिन्, ‘जलाकीको अर्थ मगर समुदायमा कसैको सम्झनामा बनाइने ढुङ्गाको स्तम्भ हो।’ उनका अनुसार सिनेमाले मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा बनाइने यही स्तम्भको मर्म बोकेको छ।
उनी यस सिनेमामा प्रेमकथासँगै प्रेमको फराकिलो अर्थ पनि समेटिएको बताउँछिन्। उनी भन्छिन्, ‘प्रेम भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाबीचको सम्बन्ध मात्र सम्झिन्छौँ। तर आमाबुबा र छोराछोरीबीचको माया, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै गहिरो रूप हो। ‘जलाकी’ ले यिनै त्याग, विछोड र प्रतीक्षाको कथा भनेको छ।’
एकपछि अर्को सिनेमामा सफलता पाइरहेकी उपासनाका लागि ‘जलाकी’ अभिनय यात्राको अर्को महत्त्वपूर्ण परीक्षा र अवसर दुवै हो। यस सिनेमाले आफूलाई फेरि एकपटक दर्शकको मनको नजिक पु¥याउने विश्वास उनले लिएकी छन्।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरले निर्देशन गरेको ‘जलाकी’ मा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको छ। निर्देशक मगरका अनुसार मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा ढुङ्गाले बनाइने स्तम्भलाई ‘जलाकी’ भनिन्छ। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमाको कथा तयार गरिएको उनले बताए।
सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।
यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। ‘जलाकी’ को वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रिब्युसनले गर्नेछन्।




















प्रतिक्रिया