विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर मन्तव्य दिँदै उनले आफूमाथिको आरोपलाई ‘आधारहीन र पूर्वाग्रही’ भन्दै खारेज गरे ।
उनले प्रदेशसभा भित्रै गायक नवीन के भट्टराईको चर्चित गीत ‘खाँदै नखाएको विषले जिउँदै मार्यो’ उद्धृत गर्दै आफूलाई चरित्रहत्या गर्न खोजिएको टिप्पणी गरे ।
‘क्युआर कोड मेरो मोबाइलबाट पठाइएको हो भन्ने प्रमाण छ भने ल्याउनुस्,’ मन्त्री मण्डलले चुनौती दिए, ‘कुन उद्देश्यले, कसले, र किन पठायो भन्ने विषयमा मेरो कुनै संलग्नता छैन।’
विवाद चुलिएपछि मन्त्री मण्डलले अमृत मेहतालाई सचिवालयबाट हटाएको बताएका छन् । साथै, उनले घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै भने, ‘गल्ती देखाउने तर प्रमाण दिनु नपर्ने? कागले कान लग्यो भन्दै कान नसमातीकन दौडनेमा म पर्दिनँ।’
उनले उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह पनि गरेका छन् ।




















प्रतिक्रिया