Logo

समाचार

आमा, ६ छोरा र ५ छोरीसहित एकै परिवारका १६ जना ४ दिनदेखि बेपत्ता



सिन्धुली । सिन्धुलीमा एकै परिवारका लोपोन्मुख हायु परिवारका १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास विप्परकटेरीमा बिहीबार दिउसो सुँगुर काटेर खाएर एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले उनीहरूको खोजी कार्य तीव्र बनाएका छन् ।

सम्पर्कविहीन हुनेहरूमा घरमुली ५२ वर्षीया उर्मिला हायु, उनका ६ भाइ छोरा, पाँच बहिनी छोरी, बुहारी, जेठो ज्वाइँ र नाति नातिनी रहेका स्थानीयले बताएका छन् ।

उनीहरूले लोपोन्मुख सामाजिक सुरक्षा भत्ता १ लाख ८० हजार रुपैयाँ बैंकबाट झिक्न बिहीबार नै वडा कार्यालयबाट सिफारिस लिएका थिए ।

हायु समुदायका व्यक्तिलाई सरकारले मासिक जनही ४ हजार रुपैयाँ भत्ता दिने गरेको छ ।

वडा कार्यालयका अनुसार सम्पर्कविहीन रहेकाहरूमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला, २३ वर्षीया कोमलमाया( बुहारी), २२ वर्षीया उषा, १९ वर्षीया सुजता, २१ वर्षीया अस्मिता, २९ वर्षीय राजु जेठो छोरा, र माइलो छोरा हिमाल रहेका छन् ।

त्यसैगरी १६ वर्षीय लालबहादुर, १४ वर्षीय वेगबहादुर, ११ वर्षीय लक्ष्मण, १२ वर्षीय सुवर्ण, १० वर्षीय ओमकुमारी, ४ वर्षीय रियासा र १ वर्षीय अर्जुन हायु रहेका छन् ।

उर्मिला हायूका श्रीमान् सने हायू भने तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले बताए ।

उर्मिला हायुको परिवारमा १८ जना सदस्य थिए। एक बुहारी विदेश र एक छोरी काठमाडौंमा बस्दै आएका छन् ।

एकान्तमा रहेको घरमा सोमबार प्रहरी सहितको टोली पुग्दा कोहि भेटिएका छैनन् । अन्य बस्तीभन्दा टाढा एकान्तमा उनीहरूको घर रहकाले कहिलेदेखि उनीहरू हराएका हुन् भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

जस्तापाताले छाएको मुल घरको पालिमा खरले छाएको भान्साकोठा थियो। आगलागीले भान्साकोठा जलेको देखिएकाे छ ।

रामेछापतर्फ गएको आशंकामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको छ । रामेछाप तर्फ आएको हुनसक्ने आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ । सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ ।

उनीहरूको परिवारका सदस्यहरूले मोबाइल प्रयोग गर्ने गरे पनि सबैको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।

श्रीमानको मृत्युपछि उर्मिका परिवार ऋणमा डुबेको, बैंक तथा वित्तीय संस्थाका मानिसहरू ऋण उठाउन पटक-पटक घरमा पुगेकाे पत्ता लागेकाे वडाध्यक्ष रविनकुमार श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १७:३३   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।