Logo

प्रमुख समाचार

गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने



नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो ।

मन्त्री भण्डारीले हालसम्म अनौपचारिक क्षेत्रमा रहेका गृह श्रमिकलाई औपचारिक श्रम प्रणालीमा ल्याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गर्दै, त्यसअनुसार कानुनी आधार तयार गर्न प्रक्रिया थालिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १८९ अनुसार अगाडि बढाइएको हो। नेपाल यस अभिसन्धीका पक्षधर भएको हुनाले गृह श्रमिकलाई कानुनी रूपमा मान्यता दिने व्यवस्था गर्न कानुन तयारी भइरहेको छ ।

घरायसी श्रमिक र गृह श्रमिक फरक फरक विषय भएको हुनाले कानुनी रूपमा प्रस्ट हुने गरी संशोधन गरी परिमार्जन गरिनेछ । यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय श्रम संगठनले आईएलओ१८९ कन्भेन्सन र श्रम ऐन २०७४ को ग्याप विश्लेषण गर्न एक परामर्शदाता नियुक्त गरेको छ।

उक्त परामर्शदाताले विस्तृत अध्ययन गरी मन्त्रालयलाई प्रतिवेदन पेश गर्नेछ, जसको आधारमा आईएलओ१८९ कन्भेन्सन संसदमा अनुमोदनका लागि प्रस्तुत गरिने छ । कन्भेन्सन अनुमोदन भएपछि गृह श्रमिकलाई श्रम ऐनमा समावेश गरिनेछ ।

नेपालको सन्दर्भमा घरायसी श्रमिक र गृह श्रमिकबीचमा परिभाषागत अन्योल रहँदै आएको छ। केही श्रमिक समूहहरूले आफूलाई श्रम ऐनमा स्पष्ट रूपमा समेट्न माग गर्दै आएका छन्, जसको सम्बोधनका लागि सरकारले यो प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयका अनुसार, गृह श्रमिक भन्नाले कुनै कम्पनीद्वारा नियुक्त भई तर घरमै बसेर सेवा पुर्‍याउने श्रमिकलाई जनाइन्छ । श्रम ऐनमा समेटिएपछि उनीहरूले पनि सरकारी न्यूनतम तलब, सेवा सुविधा र सामाजिक सुरक्षाका अन्य लाभहरू प्राप्त गर्ने छन् ।

आईएलओ १८९ कन्भेन्सन घरेलु कामदारहरूको श्रम अधिकार सुनिश्चित गर्नका लागि एक ऐतिहासिक दस्ताबेज हो । यो कार्यान्वयन भएपछि लाखौँ घरेलु कामदार ९विशेषतः महिला० लाई श्रममा गरिमा, सुरक्षा र सामाजिक न्याय प्राप्त हुनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १९:२२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।