Logo

प्रमुख समाचार

हुलाकी सडकको कटहरी खण्डको काम चार दिनभित्र सुरु



विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डको ६ किलोमिटर सडक निर्माण कार्य चार दिनभित्र सुरु गर्ने सहमति भएको छ ।

वर्षौंदेखि ढिलाइ भइरहेका कारण प्रदेश र संघीय सांसदहरूले अनशनको चेतावनी दिएपछि ठेकेदार कम्पनी, सांसद र सडक विभागबीच मंगलबार भएको छलफलमा सहमति जुटाइएको हो ।

कटहरी रामचोकदेखि हाटखोलासम्मको सडक निर्माण कार्य ६ वर्षदेखि सुस्त गतिमा छ । ७७ करोडमा ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले हालसम्म २३ प्रतिशत मात्र भौतिक तथा आर्थिक प्रगति गरेको छ । २०७६ सालमा ठेक्का लिए पनि कम्पनीको म्याद गत जेठ ३० गते सकिएको थियो ।

प्रदेशसभा बैठकमा सांसद भीम पराजुली र प्रतिनिधिसभा बैठकमा सांसद अमनलाल मोदीले तत्काल काम सुरु नगरे आमरण अनशन बस्ने चेतावनी दिएका थिए । मोदीले १० वर्षदेखि अधुरो सडकले जनतालाई सास्ती दिइरहेको र धान रोपाइँसम्म सडकमा भइरहेको अवस्थाले सरकार गम्भीर हुनुपर्ने बताएका थिए । मोरङ–५ का सांसद योगेन्द्र मण्डलले पनि यो मागमा समर्थन जनाएका थिए ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार, सहमतिअनुसार ठेकेदार कम्पनीले चार दिनभित्र जनशक्ति र उपकरण परिचालन गर्नेछ । तत्काल २ रोलर, २ ग्रेडर, ७–१० टिपर र आवश्यक कामदार खटाइने छन् । सहमति पालना नभए १५ दिनभित्र ठेक्का सम्झौता रद्द गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार २२:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।