Logo

प्रमुख समाचार

रविको कारागार स्थानान्तरणको विषय प्रक्रिया अघि बढेको छ : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए ।

“अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति/अनुमति लिनुपर्ने हुन्छ । जुन अदालतमा मुद्दा चलिरहेको हुन्छ, त्यो अदालतले अनुमति दिनुपर्नेमा अदालतको अनुमति प्राप्त छ ।

उहाँको निवेदन पनि छ”, उनले भने, “सरकारले कुन कारागारमा सार्ने सुरक्षाका सबै विषय हेरेर निर्णय गर्नुपर्छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । म सकारात्मक छु ।”

गृहमन्त्रीले कारागारमा पाउनुपर्ने कुनै पनि सुविधाबाट लामिछाने वञ्चित नभएको बताए । “जेलहरू साँघुरा छन्, सानै भए पनि उहाँलाई अलग्गै कोठामा राखिएको छ ।

कारागार प्रशासनले समस्याका बारेमा वेलावेला सोधेको मैले जानकारी पाएको छु”, गृहमन्त्री लेखकले भने, “कारागारमा उपलब्ध हुने सुविधाबाट वञ्चित गरिएको छैन ।

उहाँलाई विशेष सुविधा दिएको छ भन्ने पनि होइन ।” लामिछानेलाई साँघुरो भए पनि एउटा कोठामा अलग्गै राखिएको जानकारी उनले दिए ।

“वहाँ एक्लै कोठामा बस्नुभएको छ”, लेखकले भने, “भौतिक पूर्वाधार अभाव र बजेटको सीमितताका कारण चाहे जति सुधारका काम गर्न सकिरहेका छैनौँ ।”

कारागारको भौतिक पूर्वाधार निर्माण तथा सुधार, कैदीबन्दीको समस्या, सेवा सुविधालाई ध्यानमा राखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार २०:०१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।