Logo

प्रमुख समाचार

कांग्रेस प्रवेश गरेका देवेन्द्र यादवको सदस्यता एकदिनमा किन खारेज ?



काठमाडौं । नेपाली कांग्रेसले बिहीबार (हिजो) पार्टी प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री यादवलाई सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिएका थिए ।

उनी फौजदारी कानुनी कारबाही प्रक्रियामा रहेको जानकारी पाएपछि उनको सदस्यता खारेज गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“…तर, बुझ्दै गर्दा निज व्यक्तिउपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएकाले निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।

कानुनी कारबाहीको प्रक्रियाबारे गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।

विज्ञप्तिमा पार्टी नेताहरूले गरेको आग्रहबमोजिम सभापति देउवाले पार्टी सदस्यता दिएको पनि दाबी गरिएको छ ।

“हिजो बिहीबार बिहान ९:४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेको बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नुभएको हो,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १९:२४   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।