काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले केवल नयाँ सवारीसाधनको प्रदर्शनी मात्र होइन, भविष्यको यातायात प्रविधिको स्पष्ट संकेतसमेत दिएको छ। विद्युतीय गाडी (ईभी) को बर्चस्व, स्वचालित प्रविधिहरू र उड्ने कारजस्ता नवप्रवर्तनहरूले शो लाई विशेष बनाएको छ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजना तथा नेपालका प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागितामा भदौ ८ गतेसम्म सञ्चालन हुने अटो शोमा पेट्रोल र विद्युतीय दुवै प्रकारका सवारीसाधनले स्थान पाएका छन् ।
शोको अवसरमा विभिन्न कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफरहरू सार्वजनिक गरेका छन् ।
सुजुकीका आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेलमा ६ लाख रुपैयाँसम्मको नगद छुट, २ लाखसम्म एक्सचेञ्ज बोनस, एक वर्षको बीमा, ६ वर्ष निःशुल्क पाट्र्स सेवा र आकर्षक एसेसरिजको अफर ल्याएको छ ।
सेरेसले शो अवधिभर मात्र लागू हुने अफरमार्फत ३ वर्षको बीमा, बुकिङ रकम बराबर लाभ र ३ गुणासम्म नगद छुट दिने योजना सार्वजनिक गरेको छ । कम्पनीले हालै लोमान्थाङसम्म विद्युतीय सवारी चढाएर बनाएको कीर्तिमान पनि प्रदर्शनीमा प्रदर्शन गरेको छ, जसले दर्शकमा थप चासो बढाएको छ ।
टाटा मोटर्सले आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङमार्फत नेक्सन पेट्रोलदेखि नयाँ मोडेल कर्भ ईभी र नयाँ सफारी सार्वजनिक गरेको छ । विशेषगरी कर्भ ईभी र सफारीले धेरै दर्शकको ध्यान खिचेका छन् । कम्पनीले ईभी खरिदकर्तालाई आजीवन निःशुल्क चार्जिङ, तीन वर्षको सर्भिसिङ, एक वर्षको बीमा र रोड ट्याक्स छुटको अफरसमेत दिएको छ ।
भविष्यतर्फको संकेतस्वरूप अटो शोमा दिपलको उड्ने कार र रोबोटिक प्रविधि प्रदर्शनीमा प्रस्तुत गरिएको छ, जसले प्रविधिमा नेपालले पार गर्दै गएको फड्को दर्शाएको छ । साथै, मोसिर माइनरदेखि मर्सिडिज बेन्ज र टोयोटा कोरोलासम्मका १२ वटा भिन्टेज गाडीहरू पनि प्रदर्शनीमा छन्, जसले पुराना गाडीप्रेमीहरूको मन जितिरहेका छन् ।
शोको पहिलो दिन १९ हजार ७०६ र दोस्रो दिन २८ हजार ९७८ जनाले अटो शो अवलोकन गरेको आयोजकले जनाएको छ । अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिले पनि प्रदर्शनीको महत्व बढाएको छ ।
शुक्रबारसम्म कुल ७८ हजार ५१३ जनाले अवलोकन गरेको तथ्यांक सार्वजनिक गर्दै आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।
नाडाका अध्यक्ष करण चौधरीकाअनुसार छोटो अवधिमै आएको यस किसिमको जनसहभागिताले नेपाली समाजमा अटो उद्योगप्रतिको चासो र विश्वास झन् प्रष्ट पारेको छ ।
शोमा १९ वटा चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे ब्रान्डहरूको सवारीसाधन, साथै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, ब्याट्री, पाट्र्स, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका छन् ।




















प्रतिक्रिया