Logo

प्रमुख समाचार

निजी विद्यालयले भदौ २४ र २५ गते पठनपाठन नगर्ने



काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन् । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने गरी आन्दोलन गर्न लागिएको जानकारी दिए ।

“भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने गरी आन्दोलन गर्दै छौँ । अहिलेसम्म विद्यार्थीहरूको पढाइमा कुनै बाधा आएको छैन । २४ र २५ गते बन्द गर्नुपर्ने हुन सक्छ,” न्यौपानेले भने ।

यसअघि, आन्दोलनका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठन (प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमए)ले भदौ १८ गते (आज)देखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर, उनीहरूले अन्तिममा आएर विद्यालय बन्दको निर्णय फिर्ता लिएका थिए ।

निजी विद्यालयहरूले पाँचबुँदे माग राखेका छन् । विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग उनीहरूको छ ।

यस्तै, उनीहरूले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार २०:१५   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।