काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संवैधानिक वा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम क्षति नपुग्ने गरी निष्कर्ष निकाल्नु उपयुक्त हुने बताएका छन् ।
आज एक सन्देशमार्फत् उनले सक्रिय राजनीतिमा आएको २ वर्षमा आफ्नो भागमा परेका कमजोरीप्रति माफी मागेका छन् ।
सुहाङले भनेका छन्, ‘जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चाहन्छु, गल्ती कमजोरीहरु सच्चाएर जानेछौं,’ उनले भनेका छन्, ‘यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरुप्रति माफी माग्छु ।’
नेम्वाङले विगतमा पनि प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र असफल मुलुक बनाउने अनि जेनजी पुस्तालाई सुन्दर भविष्य निर्माणबाट विमुख गर्ने प्रयासप्रति सजग रहनुपर्ने बताएका छन् । उनले अहिले पनि आँखामा भदौ २३ र २४ गतेको दृश्यहरु नाचिरहेको बताएका छन् ।
‘भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वका लागि सडकमा उपस्थिति जनाउन गएका कलिला नानीहरु, अबोध नौजवान साथीहरु मारिएको बर्बर र क्रूरतापूर्ण दृश्यहरुले नराम्ररी झस्काइरहेको छ’, उनले भनेका छन्, ‘मेरो मनमा अहिले पनि प्रश्न छ- ‘जेनजीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’
भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लुटपाटको दृश्यहरुले असह्य पीडा दिइरहेको भन्दै उनले जेनजीहरुको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरु कानुन अनुसार नै दण्डित हुने विश्वास व्यक्त गरेका छन् ।
२४ गतेको घटनासँग मेरो मनमा कैयौं प्रश्नहरु छन् । ‘रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिँडेकाहरुले हाम्रा राष्ट्रिय सम्पदा र सम्पत्तिमाथि किन आगो लगाए ? उनीहरु को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए ? हाम्रो सुन्दर र सुनिश्चत भविष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरुले नै खोज्नुपर्नेछ’, सुहाङले भनेका छन् ।




















प्रतिक्रिया