नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित कर्ण नेतृत्वको टोलीले आज कांग्रेसको मङ्सिरभित्रै महाधिवेशन गर्न स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।
देशको वर्तमान अवस्था, हालैको ‘जेनजी’ प्रदर्शन र त्यसपछि उत्पन्न हिंसात्मक घटनाक्रमबारे पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।
विधिवत् र नियमित महाधिवेश मात्र पार्टीमा युवा पुस्ताको सम्मानजनक सहभागिता, पुस्तान्तरण र रूपान्तरणको एक मात्र वैधानिक विकल्प भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
नेताहरूले हालैको ‘जेनजी’ प्रदर्शन देखाएर जननिर्वाचित सरकारलाई विस्थापित गर्ने र प्रतिनिधिसभा विघटन गर्ने कदमले राजनीतिक अस्थिरता निम्त्याएको समेत बताएका छन् ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले अन्य संसदवादी दल, नागरिक समाजसँग संवाद गरी राजनीतिक पहलकदमी लिनुपर्ने पनि उहाँहरूको जोड छ ।





















प्रतिक्रिया