Logo

Sports

एनपीएलमा काठमाडौँमाथि पोखराको शानदार जीत, सुदूरपश्चिमलाई फाइदा



नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई ५५ रनले हरााएको छ ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा शानदार प्रदर्शन गर्दै पोखराले जीत हात पारेको हो । जीतसँगै पोखराले सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

७ मध्ये दुई खेल मात्र जितेको पोखरा सातौँ स्थानमा रहँदा दुई खेल नै मात्र जितेको जनकपुर रन औसतमा पछि पर्दै पुछारमा रह्यो । यसअघि नै प्लेअफमा पुगिसकेको काठमाडौँलाई आजको हारले शिर्ष २ मा पुग्ने सम्भावनाबाट भने विमुख बनाएको छ ।

काठमान्डुले ७ मध्ये ४ खेल जित्दै तेस्रो स्थानमा रह्यो भने ७ मध्ये ५ खेल जितेको सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । आज काठमान्डुले जितेको भए सुदूरपश्चिम बराबर ५ जित नै हुन्थ्यो भने रनऔसतका आधारमा दोस्रो स्थानमा रहने सम्भावना रहन्थ्यो ।

दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायर खेल्न पाउने सम्भावना रहन्थ्यो । तर त्यो सुविधा सुदूरपश्चिमले प्राप्त गरेको छ ।

साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित पहिलो र सुदूरपश्चिम १० अंकसहित जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् । यो खेल मंगलबार हुनेछ ।

आज पोखराले पेश गरेको एनपीएलकै सर्वाधिक ठुलो २२५ रनको लक्ष्य पछ्याएको काठमाडौँले १ बल बाँकी छँदा १६९ रन मात्र बनाउन सक्यो ।

काठमाडौँका साहिल पटेलले २३ बलमा ३४ रन बनाए भने रासिद खानले २० बलमा ३१ रनको योगदान गरे । अन्त्यतिर विष्फोटक ब्याटिड गर्दै सोनु देवकोटाले १४ बलमा २९ रन बनाए तर टोलीको जितका लागि पर्याप्ःत भएन ।

सोनुले अन्तिम ओभरमा युवराज सिंह साम्राका ४ बलमा ४ छक्का प्रहार गरेका थिए । उनलाई साम्राले पाँचौँ बलमा भने आउट गराएका थिए ।
पोखराका लागि दिनेश खरेलले ४ र विपीन खत्रीले ३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेल र युवराजसिंह सम्राको आक्रमक ब्याटिङमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । जुन एनपीएलको इतिहासमा अहिलेसम्मकै ठूलो स्कोर हो ।

यससँगै पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बन्यो । यसअघि कर्णाली याक्स विरुद्ध पोखराले नै २१७ रन बनाएको थियो ।

कुशलले आक्रामक ब्याटिड गरे पनि उनी शतक बनाउनबाट १ रनले मात्र चुके । ५१ बल खेलेका उनले ८ चौका र ८ छक्का प्रहार गरे । यस्तै, युवराजले ५५ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन बनाए ।

उनीहरुले दोस्रो विकेटका लागि एनपीएलको कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । यसअघि एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

काठमान्डुका कप्तान करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए पनि काठमान्डुका बलर पोखराका २ ब्याटरका सामुन्ने निरीह भएका थिए ।

पोखराले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि समग्रमा एनपीएलको यो सिजन पनि विर्सनलायक नै रह्यो । यसअघिका दुबै प्रतियोगितामा प्ले अफमा पुग्न नसकेको पोखरा यसपटक पनि पुछारबाट दोस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार २१:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।