Logo

प्रमुख समाचार

देश नै नरहने हो कि भन्ने चिन्ता बढ्यो – राजा श्री ५ ज्ञानेन्द्र



काठमाडौं । पूर्वराजा श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहले नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि मुलुक गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटबाट मुक्त हुन नसकेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा जारी भिडियो सन्देशमा उनले देशले अपेक्षित स्थायित्व र सुशासन नपाएको यथार्थतर्फ संकेत गर्दै हिजो ‘देश बन्न नसकेको’ पीडा रहेकामा आज ‘देश नै जोगिने हो कि होइन’ भन्ने निराशाजनक अवस्था सिर्जना भएको बताएका छन् ।

उनले आधुनिक नेपालको निर्माणकर्ता पृथ्वीनारायण शाहको स्मरण गर्दै २२ वर्षकै उमेरमा सुरु गरिएको राष्ट्रएकीकरण केवल भूगोल विस्तार मात्र नभई विविध जात, धर्म र समुदायलाई एउटै राष्ट्रिय पहिचानमा बाँध्ने ऐतिहासिक अभियान भएको उल्लेख गरेका छन् । चार वर्ण ३६ जातलाई साझा फुलबारीका रूपमा परिकल्पना गरिएको नेपाल कुनै एक वर्ग, दल वा समूहको मात्र नभई राजा र जनताको समान स्वामित्वको राष्ट्र भएको दृष्टिकोण त्यसै बेला स्थापित भएको उनको भनाइ छ ।

उनले नारायणहिटी राजदरबारबाट आफू बाहिरिएको यतिका वर्ष बित्दा पनि राज्य सञ्चालन दलिय स्वार्थ, भागबण्डा र सत्ता केन्द्रित राजनीतिबाट मुक्त हुन नसकेकोप्रति असन्तोष व्यक्त गरे । ‘भाषण, नाराबाजी, जादू र चमत्कारले देश बन्ने होइन, न त यसरी राष्ट्र जोगिन सक्छ,’ उनले भनेका छन् । उनका अनुसार सत्ता टिकाउने खेल, पद बाँडफाँट र निहित स्वार्थले राज्यका संस्थाहरू कमजोर बन्दै गएका छन् भने जनताको विश्वास राजनीतिप्रति क्रमशः क्षीण हुँदै गएको छ ।

शान्ति, स्थायित्व र आर्थिक समृद्धिको नाममा सत्तामा पुगेका दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको जनगुनासो व्यापक रूपमा सुनिन थालेको उनको संकेत छ । यही पृष्ठभूमिमा सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा उभिएको राजसंस्था नै राष्ट्रिय एकताको मजबुत आधार भएको बुझाइ आम नागरिकमा बढ्दै गएको उनले उल्लेख गरेका छन् । दलिय विभाजनभन्दा माथि रहेर राष्ट्रहितलाई केन्द्रमा राख्ने संस्थागत निरन्तरताको आवश्यकता आजको सन्दर्भमा झनै टड्कारो बनेको उनको तर्क छ ।

राजा शाहले झण्डै दुई दशकअघि आफूले श्रीपेच जनताको नासो भन्दै जनताकै सुरक्षित संरक्षित निकायमा बुझाएर राजकाजबाट बाहिरिएको स्मरण गराउँदै उक्त कदम सहयोगी नियत र राष्ट्रिय सहमतिका आधारमा लिइएको बताएका छन् । तर त्यसपछि पनि मुलुकले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक उन्नतिको स्पष्ट बाटो नपाएको यथार्थले आफूलाई चिन्तित बनाएको उनको भनाइ छ ।

अन्त्यमा उनले सबै नेपालीले इतिहासबाट पाठ सिक्दै राष्ट्रिय एकता, स्वाधीनता र दीर्घकालीन हितका लागि साझा कर्तव्यबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

दलिय भागबण्डाले सिथिल बनेको राज्य व्यवस्थालाई सबल बनाउने मार्गका रूपमा राजसंस्थाको पुनःभूमिकाबारे गम्भीर बहस चलिरहँदा उनले पृथ्वीनारायण शाहले देखाएको ‘पृथ्वीपथ’ मा हिँड्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २६ पुष २०८२, शनिबार १७:०६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।