गुल्मी । सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि शुक्रबार बेलुकादेखि सडक पूर्ण रूपमा बन्द भएको हो।
सडक सञ्चालनमा आएको तीन दिन नबित्दै पुनः पहिरो खसेर आवागमन अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए।
उनका अनुसार सडक माथिबाट निरन्तर चट्टानसहितको पहिरो झरिरहेको छ। थप जोखिम हुन सक्ने भएकाले रातिको समयमा पहिरो पन्छाउन सम्भव छैन। भोलि बिहान पहिरोको अवस्था निरीक्षण गरेपछि मात्रै डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिने उनले बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले पनि पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन कठिन रहेको जानकारी दिए।
सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर हुँदै पाल्पा, बुटवल, बागलुङ र पर्वततर्फ जाने तथा ती क्षेत्रबाट आउने सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन्।
जिल्लाको व्यस्त सडकका रूपमा रहेको कालीगण्डकी करिडोरमा पटक–पटक पहिरो खस्दा यात्रु तथा सवारीसाधनले सास्ती खेप्दै आएका छन्।





















प्रतिक्रिया