काठमाडौँ । महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् ।
यसै क्रममा, ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको निर्वाचन क्षेत्रका विषयमा निर्णय ओलीले आफैँ गर्ने भएका छन् ।
यता विपक्षी खेमाबाट उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्टले गुल्मी–२ बाट टिकट प्राप्त भएको छ । तर इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकाल पनि टिकट पाएनन् ।
ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर हार व्यहोरेका थिए ।
नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि, उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए ।
ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ ।
उपमहासचिव समेत रहेका लेखराज भट्टले केही क्षेत्रमा अध्यक्ष ओलीले टुंगो लगाउने बताए । उनले १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटेको भए पनि रणनीतिक कारणले केही क्षेत्रमा उम्मेदवार घोषणा गर्न बाँकी राखिएको दाबी गरेका छन् ।





















प्रतिक्रिया