Logo

अर्थ

दुई महिनामै बैंकिङ प्रणालीबाट बाहिरियो ७२ अर्ब निक्षेप, मुद्दतीको हिस्सा घट्दै



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७२ अर्ब ८ करोड रुपैयाँ अर्थात् ०.९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने निक्षेप ३२ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ०.५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको तथ्यांकले चालु आर्थिक वर्षको सुरुवाती अवधिमा निक्षेप परिचालनमा अघिल्लो वर्षको तुलनामा फरक अवस्था देखाएको छ । यद्यपि, वार्षिक विन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.४ प्रतिशतले बढेको छ । यसले छोटो अवधिमा निक्षेप घटे पनि वार्षिक आधारमा बैंकिङ प्रणालीको निक्षेप विस्तार कायम रहेको देखाउँछ ।

निक्षेपको कुल आकारसँगै यसको संरचनामा समेत परिवर्तन देखिएको छ । २०८३ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ७.५ प्रतिशत, ४८ प्रतिशत र ३४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ८.८ प्रतिशत, ३८ प्रतिशत र ४७.१ प्रतिशत थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमा कुल निक्षेपमा बचत निक्षेपको हिस्सा १० प्रतिशत बिन्दुले बढेको छ भने मुद्दती निक्षेपको हिस्सा १२.४ प्रतिशत बिन्दुले घटेको छ ।

त्यस्तै, चल्ती निक्षेपको हिस्सा पनि १.३ प्रतिशत बिन्दुले घटेको छ । यसले बैंकिङ प्रणालीको निक्षेप संरचनामा बचत निक्षेपको तुलनात्मक योगदान बढ्दै गएको देखाउँछ ।

मुद्दती निक्षेपको हिस्सा उल्लेख्य घट्नु र बचत निक्षेपको हिस्सा बढ्नु निक्षेपको संरचनामा आएको महत्त्वपूर्ण परिवर्तन हो । तर, निक्षेपको हिस्सामा आएको परिवर्तनलाई मात्रै आधार मानेर सम्बन्धित निक्षेपको वास्तविक रकम बढेको वा घटेको निष्कर्ष निकाल्न भने सकिँदैन ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको योगदानसमेत घटेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको तथ्यांकअनुसार भदौ मसान्तमा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको भदौ मसान्तमा यस्तो हिस्सा ३५.२ प्रतिशत थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमै कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा १.९ प्रतिशत बिन्दुले घटेको छ ।

बचत निक्षेपको हिस्सा बढ्नु, मुद्दती निक्षेपको हिस्सा घट्नु र संस्थागत निक्षेपको योगदान खुम्चिनुले बैंक तथा वित्तीय संस्थाको निक्षेप संरचनामा आएको परिवर्तनलाई देखाउँछ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।