काठमाडौँ । धादिङ–२ मा एमालेको उम्मेदवारी दर्तामा अनौठो दृश्य देखिएको छ । केन्द्रले दिएको टिकट हाइज्याक भएको भन्दै नेता धनबहादुर घले समर्थितले प्रतिरोध गरेर आफैँ उम्मेदवारी दिएका हुन् ।
केन्द्रले सुरुमा उक्त क्षेत्रबाट घलेलाई उम्मेदवार बनाउने निर्णय गर्दै सूची सार्वजनिक गरेको थियो । त्यही अनुसार उनलाई टिकट समेत दिइसकिएको थियो ।
तर, सोमबार केन्द्रले नाम संशोधन गर्दै चन्द्र रिजाललाई उम्मेदवार बनाउने भनेपछि घले समर्थित युवाले पार्टी कार्यालयमा तालाबन्दी नै गरे ।
त्यति मात्रै होइन दिइसकेको टिकट हाइज्याक गरिएको भन्दै टिकट लिएर आउँदै गरेका रिजाललाई बाटोमै रोकेर आफ्नै उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गरिसकेपछि मात्रै रिजाललाई निर्वाचन कार्यालय आउन दिइएको एमालेका एक जना जिल्ला सदस्य बताउँछन् ।
त्यसो त, घलेका समर्थकले बाटोमै रोकेपछि उनले प्रहरीसँग बाटोबाटै सुरक्षा समेत मागेको बताइएको छ । तर, जब उनी निर्वाचन कार्यालय पुगे, एमालेको नाममा आधिकारिक उम्मेदवारको रूपमा घलेलाई कायम गरिसकेको जनाउ मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो ।
प्रतिक्रिया