Logo

प्रमुख समाचार

५० प्रतिशत निर्माण सम्पन्न भएपछि मात्रै जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न पाउने



काठमाडौँ।  निर्माणाधीन जलविद्युत् आयोजनाले कम्तीमा ५० प्रतिशत भौतिक प्रगति गरेपछि मात्रै सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सरकारले लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को मस्यौदामार्फत यस्तो व्यवस्था अघि सारेको हो ।

अध्यादेशको मस्यौदामा धितोपत्र ऐन, २०६३ संशोधन गर्दै निर्माणाधीन जलविद्युत् आयोजनाको भौतिक प्रगतिलाई सार्वजनिक निष्कासनको प्रमुख आधार बनाउने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार आयोजनाको प्रमाणित भौतिक प्रगति कम्तीमा ५० प्रतिशत पुगेको र सार्वजनिक निष्कासनका अन्य आवश्यक सर्त पूरा गरेको अवस्थामा व्यापारिक उत्पादन सुरु नभएको कारणले मात्रै सम्बन्धित कम्पनीको आईपीओ आवेदन अस्वीकार गर्न पाइने छैन ।

यसको अर्थ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु नगरे पनि निर्माणको आधा काम सम्पन्न गरेको अवस्थामा आईपीओ निष्कासनका लागि आवेदन दिन सक्नेछन् । तर, आयोजनाको भौतिक प्रगति स्वतन्त्र तथा योग्य प्राविधिक मूल्याङ्कनकर्ताबाट प्रमाणित हुनुपर्नेछ ।

यसअघि नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा सार्वजनिक निष्कासन गर्न चाहने संगठित संस्थाले निरन्तर व्यवसाय सञ्चालन गरिरहेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको थियो । उक्त व्यवस्थाले विद्युत् उत्पादन सुरु नगरेका जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न कठिन हुने देखिएको थियो ।

पुँजी आवश्यक पर्ने निर्माणकै चरणमा जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनबाट वञ्चित गर्न खोजिएको भन्दै आयोजना प्रवर्द्धकहरूले उक्त प्रस्तावप्रति आपत्ति जनाएका थिए । त्यसपछि सरकारले अध्यादेशमार्फत जलविद्युत् आयोजनाका लागि छुट्टै व्यवस्था प्रस्ताव गरेको हो ।

यद्यपि, ५० प्रतिशत भौतिक प्रगति पुगेकै आधारमा मात्रै आईपीओ निष्कासनको अनुमति भने पाइने छैन । प्रस्तावित व्यवस्थाले आयोजनाको लागत, बाँकी निर्माण कार्य, थप आवश्यक लगानी र त्यसको वित्तीय स्रोत सुनिश्चित भएको हुनुपर्ने सर्तसमेत राखेको छ ।

त्यस्तै, आयोजनाको निर्माण प्रगति, सम्भावित ढिलाइ, लागत वृद्धि र अन्य प्रमुख जोखिमका विषय विवरणपत्रमा स्पष्ट खुलाउनुपर्नेछ । विद्युत् खरिद सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र तथा अन्य आवश्यक नियामकीय स्वीकृतिको अवस्थासमेत लगानीकर्तालाई जानकारी गराउनुपर्ने प्रस्ताव छ ।

सार्वजनिक निष्कासनबाट प्राप्त रकम कुन प्रयोजनमा खर्च गर्ने भन्ने स्पष्ट योजना हुनुपर्ने र उक्त रकम स्वीकृत प्रयोजनमै उपयोग हुने सुनिश्चितता गर्नुपर्नेछ । साथै, आयोजना निर्माण सम्पन्न हुने अनुमानित अवधि र व्यापारिक उत्पादन सुरु हुने सम्भावित समय पनि विवरणपत्रमा उल्लेख गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

लगानीकर्ता संरक्षणका लागि धितोपत्र बोर्डले निर्धारण गरेका अन्य मापदण्डसमेत पूरा गर्नुपर्ने समेत मस्यौदामा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।