Logo

समाचार

अन्तर्राष्ट्रिय मञ्चमा रुबिनको साथमा आर्क्स फुड र क्रिकेटर सोमपाल कामी



काठमाडाैं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन् । विश्व वरीयतामा ५२७औं स्थानमा रहेका महर्जनलाई विश्वस्तरीय प्रतिस्पर्धामा पुग्न आवश्यक सहयोग उपलब्ध गराउँदै नेपालको खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो पहल सुरु गरिएको हो ।

यस साझेदारीअन्तर्गत आर्क्स फुडले खेलाडी महर्जनको तालिम, यात्रा तथा प्रतियोगिता सहभागितामा आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ । कम्पनीका प्रतिनिधिहरुले खेल क्षेत्रको विकास र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताए ।

राष्ट्रिय क्रिकेट टिमका अनुभवी खेलाडी सोमपाल कामीले खेलाडीहरुको करियर निर्माणमा यस्ता सहकार्य अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै भने- ‘नेपालमा प्रतिभा धेरै छन्, तर अवसर र सहयोगको अभावले धेरै खेलाडी अघि बढ्न सकिरहेका छैनन् । रुबिनजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’

खेलाडी रुबिन महर्जनले यो सहयोगप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उज्यालो बनाउने प्रतिबद्धता जनाए । ‘यो समर्थनले मेरो आत्मविश्वास बढाएको छ। म देशको प्रतिनिधित्व गर्दै अझ राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु,’ उनले भने।

आर्क्स फुडले खेलकुद क्षेत्रमा दीर्घकालीन योगदान दिने योजनासहित युवा खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार यो सहकार्य केवल एक खेलाडीको समर्थन मात्र नभई, नेपाली खेलकुदको समग्र विकासतर्फको महत्वपूर्ण कदम हो।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।