Logo

समाचार

चुनाव नजिकियो, सडक मर्मत थालियो



काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ ।

रोजगारी तथा अध्ययनका सिलसिलामा संघीय राजधानी काठमाडौँ तथा देशका अन्य मुख्य सहरमा बसोबास गर्दै आएका मतदाता (नागरिक) मतदानका लागि आफ्नो गृहजिल्लामा फर्किने तयारीमा छन् ।

मतदानका लागि घर फर्किनेहरूका कारण सडकमा चाडपर्वको समयमा जस्तै चाप बढ्ने गर्छ । त्यसका लागि सडक मर्मत गरेर आवागमन सहज बनाउन यातायात व्यवसायीहरूले सडक विभागलाई आग्रह गरेका छन् ।

उनीहरूको आग्रहपछि सडक विभागले निर्वाचनलाई लक्षित गरेर देशभरका सडक डिभिजनहरूलाई खाल्डाखुल्डी पुर्न सर्कुलर जारी गरेको छ ।

सडक विभागका महानिर्देशक विजय जैसीले सडक मर्मतको काम द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए । ‘हामीले सबैलाई सर्कुलर गरिसकेका छौँ ।

सम्भार महाशाखा प्रमुख श्याम खड्कासहितको टोली यसमा खटिएको छ,’ महानिर्देशक जैसीले भने, ‘मुख्य–मुख्य सडकमा जहाँ–जहाँ खाल्डाखुल्डी (पटहोल) छन्, त्यहाँ मर्मतको काम सुरु भइसकेको छ ।’

नियमित मर्मत सम्भार हुने भएकाले निर्वाचनका लागि भनेर छुट्टै बजेट विनियोजन नभएको महानिर्देशक जैसीले स्पष्ट पारे । उनका अनुसार विभागको नियमित मर्मत चक्र (मेन्टिनेन्स साइकल अनुसार नै अहिले काम भइरहेको छ ।

‘हाम्रो सडक मर्मतको दुईवटा साइकल हुन्छ । एउटा वर्षा सकिनेबित्तिकै गरिन्छ भने अर्को साइकल अहिले सुरु हुने बेला भएको छ,’ जैसीले भने, ‘यो नियमित प्रक्रियामै मिल्ने भएकाले सोही अनुसार काम भइरहेको छ ।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ०७:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।