Logo

अन्तर्राष्ट्रिय

निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता



जेनेभा । युद्ध अन्त्यका लागि रुस र युक्रेनबिच स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि बढेको बताएका छन् ।

वार्ता अमेरिकाको मध्यस्थतामा भएको हो । यसअघि जनवरी र फेब्रुअरीको सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि अमेरिकाको मध्यस्थता वार्ता भएको थियो ।

वार्तामा मुख्य विवादको विषय भू–भाग रहेको थियो । रुसले पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी करिब २० प्रतिशत भूभाग युक्रेनले छोड्नुपर्ने अडान राखेको थियो ।

तर युक्रेनले उक्त माग अस्वीकार गर्दै सम्भावित सम्झौतापछि पुनः आक्रमण हुन नदिन पश्चिमी मुलुकबाट कडा सुरक्षा ग्यारेन्टी चाहिने बताएको थियो ।रुसी टोलीका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले दुई दिनको छलफल कठिन तर कार्यगत रहेको प्रतिक्रिया दिए ।

उनले छिट्टै थप वार्ता हुने सङ्केत गरे पनि मिति खुलाएनन् । युक्रेनी टोलीका प्रमुख रुस्तम उमरोभले दोस्रो दिनको बैठकलाई गहन र सारगर्भित भने ।

उनका अनुसार दुवै पक्ष राष्ट्रपतिसमक्ष पेस गर्न सकिने निर्णयतर्फ काम गरिरहेका छन् । लगभग चार वर्षदेखि युक्रेनमा जारी रुस युद्ध अन्त्यका लागि प्रयास जारी रहे पनि हालसम्म कुनै निर्णायक प्रगति हुन सकेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार ०७:२६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।