Logo

अर्थ

धानचामल आयात बर्सेनि बढ्दो, ७ महिनामै साढे २५ अर्ब विदेशियो



काठमाडौं । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना साउनदेखि माघसम्ममा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।

गत आव २०८१/८२ को सोही अवधिमा यस्तो आयात २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबर थियो । समग्र आयात रकममा सामान्य वृद्धि देखिए पनि नेपालमा धानको सट्टा विदेशबाट सिधै तयारी चामल भित्रिने क्रम भने यस वर्ष निकै बढेको तथ्यांकले देखाउँछ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष धान आयात घटेको छ भने चामल आयात ह्वात्तै बढेको छ । गत वर्ष सोही अवधिमा १४ अर्ब ५१ करोड रुपैयाँको ३ लाख ८१ हजार ६ सय २२ टन धान आयात भएकोमा चालु वर्ष ७ महिनामा घटेर १२ अर्ब ७४ करोडको ३ लाख ४८ हजार १ सय ३७ टनमा झरेको छ ।

तर, स्वदेशमै धान कुट्नेभन्दा पनि तयारी चामल ल्याउने प्रवृत्ति बढ्दा चामल आयात बढेको छ । गत वर्ष ६ अर्ब २० करोडको ९२ हजार ७ सय ५१ टन चामल भित्रिएकोमा यस वर्ष ७ अर्ब २४ करोडको १ लाख १३ हजार ७ सय ९३ टन आयात भएको छ ।

त्यसैगरी महँगो मानिने बासमती चामल आयात पनि गत वर्षको ४० हजार ४ सय ४९ टन (४ अर्ब ५७ करोड) बाट बढेर यस वर्ष ४६ हजार १३ टन (५ अर्ब १२ करोड) पुगेको छ ।

मुख्य चामल बाहेक कनिका र धानको बिउ आयात पनि यस वर्ष अस्वाभाविक रूपमा बढेको छ । गत वर्ष जम्मा ८८ टन (करिब २८ लाख रुपैयाँ) कनिका आयात भएकोमा यस वर्ष आकासिएर ६ हजार २ सय ६८ टन (२५ करोड ९४ लाख) पुगेको छ ।

त्यस्तै धानको बिउ आयात गत वर्ष १ सय ८० टन (७ करोड ८९ लाख रुपैयाँ) बाट बढेर यस वर्ष २ सय ७२ टन (१० करोड २२ लाख) पुगेको छ । खैरो चामल (ब्राउन राइस) भने गत वर्ष साढे दुई टन अर्थात् ४ लाख ४८ हजार रुपैयाँको आयात भएकोमा यस वर्ष झन्डै ५ टन अर्थात् ५ लाख ४७ हजार रुपैयाँको भित्रिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १४:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।