दार्चुला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।
जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा ती ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ ।
सुरक्षाकर्मीले हरेक ठाउँमा नियमित जाँच, इजाजत प्राप्त हतियारको सङ्कलन, अवैध मदिरा नियन्त्रणका लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट गर्नेलगायत मतदानस्थलको नियमित रूपमा अनुगमन भइरहेको उनले बताए ।
निर्वाचनका लागि खटाइएका कर्मचारीलाई यही फागुन १३ र १४ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धाँमीले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा अपिहिमाल गाउँपालिकाका १०, व्यास गाउँपालिकाका १३, मार्मा गाउँपालिकाका १७, लेकम गाउँपालिकाका १७ र नौगाड गाउँपालिकाका १४ वटा तथा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिने छ ।
दोस्रो चरणमा महाकाली नगरपालिकाका २०, शैल्यशिखर नगरपालिकाका २३, मालिकार्जुन गाउँपालिकाका १८ र दुहुँ गाउँपालिकाका ११ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम आयोजना गरिने उनले जानकारी दिए ।
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ मतदानस्थल र १४३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् ।





















प्रतिक्रिया