Logo

विविध

सानीभेरी नदीमा तीन दिदिबहिनीको शव फेला



रुकुमपश्चिम। आइतबार दिउँसो रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१३ को छिवाङ नजिकै सानीभेरी नदी किनारमा एक किशोरीको शव फेला परेको छ ।

उक्त शव बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १३ वर्षीया सपना ओलीको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

सपनाका बुवा पूर्णबहादुर ओलीले छोरीको शवको पहिचान गर्नुभएको हो । डिएसपी पौडेलका अनुसार गत फागुन २५ गते बेलुकाबाट हराएका एकाघरका तीन बहिनी मध्य बेपत्ता रहेकी सपनाको शव हराएको १३ दिनपछि नदी किनारमा फेला परेको हो ।

यसअघि फागुन २६ गते बिहान बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई दिदिबहिनीको शव भेटिएको थियो । १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको शव भेटिएको १३ दिनपछि सपनाको शव फेला परेको हो ।

सपनाको शव फेला परेसँगै एकैसाथ हराएका तीन दिदिबहिनीको शव सानीभेरीमै फेला परेको डिएसपी पौडेलले जानकारी दिनुभयो । सपनाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

विवाहमा गएका थिए तीन बहिनी

प्रहरीका अनुसार मृतक तीन जना दिदिबहिनी आफन्तको विवाहमा गएका थिए । फागुन २५ गते मुसीकोट नगरपालिका–१ भलखोलागाउँमा आफन्तको विवाहमा गएका उहाँहरु नदीको जंघार तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीको भनाइ छ । गरालागोठबाट र भलखोला गाउँलाई सानीभेरी नदीले छुट्याएको छ ।

बेपत्ता भएको भोलीपल्ट कल्पना उर्मीलाको शव करिब पाँच सय मिटर दुरीमा फेला परेको थियो । सपनाका अवस्था भने अज्ञात रहेको थियो । तीन किशोरीहरु बाँफिकोट गाउँपालिका–३ निवासी पूर्णबहादुर ओली र निराजन ओलीका छोरीहरु हुन् । पूर्णबहादुर र निराजन एकाघरका सहोदर (माईलो र साँइलो) दाजुभाइ हुनुहुन्छ ।

उर्मीला र सपना मुसिकोट नगरपालिका–१ मा रहेको त्रिपुरा माविका कक्षा ६ मा अध्ययरत थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा अध्ययनरत छात्रा हुन् ।

निराजनका चार सन्तान मध्य उर्मीला माईली र कल्पना कान्छी छोरी हुन् । निराजन रोजगारीका लागि भारतमा जानुभएको छ । पूर्णबहादुरका पनि चार सन्तान मध्य सपना कान्छी छोरी हुन् । उहाँ ज्यामी काम गर्नुहुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १९:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।