Logo

अर्थ

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० देखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो प्राथमिकता



काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतबराबर आठ करोड रुपैयाँको आठ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ। उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।

आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० कित्ता र अधिकतम सात हजार कित्ताको सीमा तोकिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर आवेदन मंसिर २४ गतेसम्म दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि पुस १३ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ। सो अवधिमा मागअनुसार आवेदन नपरे मंसिर २४ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि दुई रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्।

उनीहरूले मेरो सेयरमार्फत सी–आस्बा प्रणाली प्रयोग गरेर पनि आवेदन दिन पाउनेछन्। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ दिएको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार ०९:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।