Logo

अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावको समीक्षा गर्दै इरान



काठमाडौं । खाडी क्षेत्रमा जारी युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा भइरहेको इरानले जनाएको छ। यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन्।
उनको यो भनाइले आफ्ना माग पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार हुन सक्ने संकेत दिएको रोयटर्सले समाचार लेखेको छ ।
‘यो इरानको प्रारम्भिक नकारात्मक प्रतिक्रियाभन्दा फरक हो, किनकि यसअघि इरानी अधिकारीहरूले अमेरिकासँग वार्ताको सम्भावनालाई सार्वजनिक रूपमा अस्वीकार गरेका थिए,’ रोयटर्सले भनेको छ।
इरानको राष्ट्रिय टेलिभिजनसँग कुरा गर्दै इरानका विदेशमन्त्री अरघचीले अमेरिकाको प्रस्ताव इरानको उच्च नेतृत्वले विचार गरिरहेको बताएका छन् । तर प्रत्यक्ष संवादको कुनै सम्भावना उनले अस्वीकार गरेका छन् । ‘मध्यस्थमार्फत सन्देश आदानप्रदान हुनु भनेको अमेरिकासँग वार्ता गर्नु होइन,’ उनले भनेका छन्।
रोयटर्सका अनुसार इरानले मध्यस्थहरूलाई कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्ने बताएको छ।
पाकिस्तानमार्फत इरान पठाइएको भनिएको ट्रम्पको १५ बुँदे प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम संवर्धन रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने र क्षेत्रीय सहयोगीहरूलाई दिइने आर्थिक सहयोग रोक्ने जस्ता विषय समेटिएको बताइएको छ।
डोनाल्ड ट्रम्पले वासिङ्टनमा आयोजित एक कार्यक्रममा इरानी नेताहरू वार्तामा संलग्न रहेको दाबी गरेका थिए। ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आफ्नै जनताबाट मारिने डरले खुला रूपमा भन्न डराइरहेका छन् । उनीहरू हामीबाट पनि डराइरहेका छन्,’ ट्रम्पले भनेका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा सुरु भएको द्वन्द्व चौथो हप्तामा प्रवेश गरिसकेको छ। यसले स्ट्रेट अफ होर्मुज जलमार्ग हुँदै हुने व्यापारमा अवरोध पुर्‍याएको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार ०९:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।