काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाएका हुन् ।
आफू मुख्यमन्त्री भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेको जिकिर गर्दै बानियाँले सोही अनुसार आफूले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययिताका लागि निरन्तर काम गर्दै आएको जनाएका छन् ।
‘तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ,’ मुख्यमन्त्री बानियाँले विज्ञप्तिमा भनेका छन्, ‘सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैँ साथ रहन्छ ।’
राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा आफू सहयोग गर्न तत्पर रहेको पनि मुख्यमन्त्री बानियाँले प्रस्ट पारेका छन् ।
‘राजनीतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तर विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ । राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु ।’
उनले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धतासमेत जनाएका छन् । उनले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेशवासी एवं मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुनु अनुरोध गर्दछु ।’






















प्रतिक्रिया