न्युजिल्याण्डको नर्थ आइल्याण्डस्थित पूर्वी तटमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
यो भूकम्पसँगै न्युजिल्याण्डमा एकै हप्तामा लगातार तीनवटा ठूला धक्काहरू महसुस गरिएका छन्, जसले गर्दा भूगर्भविद्हरूले यसलाई ‘हल्लिने सप्ताहान्त’ को संज्ञा दिएका छन्।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार यो भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा केन्द्रित थियो।
यद्यपि, न्युजिल्याण्डको स्थानीय भूकम्प मापन केन्द्र ‘जियोनेट’ ले भने यसलाई ५.७ म्याग्निच्युडको उल्लेख गर्दै भूकम्पको केन्द्र ते अरारोआभन्दा १० किलोमिटर दक्षिण-पश्चिममा ३९ किलोमिटर गहिराइमा रहेको जनाएको छ। मुख्य धक्का लगत्तै सोही क्षेत्रमा ३ म्याग्निच्युडको परकम्प समेत रेकर्ड गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का ५ हजारभन्दा बढी स्थानका नागरिकहरूले प्रत्यक्ष महसुस गरेका थिए। यसको प्रभाव नर्थ आइल्याण्डका प्रमुख सहरहरू अकल्याण्ड, गिस्बोर्न, वाइही बीच, कावेराउ, तौरंगा, पापामोआ र फ्ल्याक्समेयरसम्म परेको थियो।
अग्ला भवनहरू र अपार्टमेन्टमा बस्ने नागरिकहरूले कडा हलचल महसुस गरेका थिए भने देशको राजधानी वेलिंग्टनसम्म पनि यसको धक्का पुगेको थियो।
यो भूकम्प एक्कासी आएको नभई लगातार भइरहेका भूगर्भीय हलचलको निरन्तरता हो। यसअघि शुक्रबार पोरिरुआ नजिकै ४.६ म्याग्निच्युड र शनिबार ते अनाउ नजिकै ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। आइतबारको यो तेस्रो ठूलो धक्काले नागरिकहरूमा त्रास बढाएको छ।
न्युजिल्याण्ड भौगोलिक रूपमा प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित छ। यो यस्तो क्षेत्र हो जहाँ इन्डो-अष्ट्रेलियन र प्यासिफिक टेक्टोनिक प्लेटहरू आपसमा ठोक्किन्छन्।
प्लेटहरूको यही घर्षणका कारण न्युजिल्याण्डमा वार्षिक रूपमा हजारौं साना-ठूला भूकम्पहरू जाने गर्दछन्। पूर्वी तटमा पर्ने ‘हिकुरान्गी सबडक्सन जोन’ का कारण यस क्षेत्रमा भूकम्पको जोखिम सधैँ उच्च रहने वैज्ञानिकहरूको भनाइ छ।
भूकम्पबाट हालसम्म कुनै ठूलो मानवीय वा भौतिक क्षतिको विवरण नआए पनि परकम्पहरू आउने क्रम जारी रहन सक्ने चेतावनी दिइएको छ।
न्युजिल्याण्ड सिभिल डिफेन्सले आपतकालीन अवस्था जुनसुकै बेला आउन सक्ने भन्दै नागरिकहरूलाई सुरक्षित रहन र भूकम्प आएको समयमा अनिवार्य रूपमा ‘ड्रप, कभर र होल्ड’ (भुइँमा गुडुल्किने, ओत लाग्ने र समातेर बस्ने) नियम अपनाउन कडा निर्देशन जारी गरेको छ।




















प्रतिक्रिया