Logo

संसद् अवरुद्ध गर्ने श्रम संस्कृति पार्टीको कदम, हर्क साम्पाङले माफी मागे



काठमाडौं  ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको घटनाप्रति क्षमायाचना गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका थिए। उनले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रमा भएको अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी रहेको बताएका थिए।

परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई धारणा राख्न समय दिएका थिए।

त्यसक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’, नेकपाका सांसद प्रमेश हमाल तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले मन्तव्य राखेका थिए।

श्रम संस्कृति पार्टीले पनि बोल्न समय मागेको दाबी गरे पनि सभामुख अर्यालले उक्त पार्टीका तर्फबाट वक्ताको नाम टिपोट नभएकाले समय उपलब्ध गराउन नसकिएको बताएका थिए। त्यसपछि साम्पाङसहित पार्टीका सांसदहरू रोस्ट्रमअगाडि पुगेर नाराबाजीमा उत्रिएका थिए।

विरोध जारी रहेपछि सभामुखले बोल्न समय उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सांसदहरूलाई आफ्नो स्थानमा फर्किन आग्रह गरेका थिए। त्यसपछि पार्टीका तर्फबाट बोल्ने सांसदको नाम टिपोट गरिएपछि साम्पाङले धारणा राखेका थिए।

साम्पाङले प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गरे। उनले त्यसका लागि सभामुखलाई रुलिङ गर्न आग्रहसमेत गरेका थिए।

मन्तव्यको अन्त्यमा साम्पाङले आफ्नो पार्टीका कारण बैठक सञ्चालनमा अवरोध पुगेको स्वीकार गर्दै क्षमा मागेका थिए।

संसद्को गरिमा र मर्यादा कायम राख्न सबै दल र सांसदले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले संसद्को प्रतिष्ठा जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार २०:३१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।