काठमाडौँ। कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक लिला पिटर्स याहिया र राष्ट्र संघका एजेन्सी प्रमुखहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन्।
भेटघाटमा कृषि प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउँदै उत्पादनशीलता वृद्धि गर्ने, किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने, समावेशी र दिगो कृषि रूपान्तरणलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो।
उक्त छलफलमा विशेषगरी युवा, महिला, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सशक्तिकरणलाई केन्द्रमा राख्दै पर्वतीय क्षेत्रको सांस्कृतिक तथा जैविक विविधता संरक्षणसहित दिगो विकास एजेन्डालाई अघि बढाउने विषयमा जोड दिइएको थियो।
मन्त्री चौधरीले कृषि र खाद्य प्रणाली जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेको उल्लेख गर्दै स्थानीय समुदायको सहनशीलता अभिवृद्धि गर्न आवश्यक नीतिगत तथा प्राविधिक सहयोगको आवश्यकता औँल्याइन्।
संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूले नेपालको प्राथमिकताप्रति ऐक्यबद्धता जनाए। मन्त्री चौधरीले उठाएको एजेन्डामा प्राविधिक तथा नीतिगत सहयोग निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।




















प्रतिक्रिया