Logo

अर्थ

अब बैंकहरूले सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाउने, ओटी सातामा २४ घण्टासम्म मात्र



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापकीय पद ३ महिना भन्दा बढी अवधि रिक्त राख्न नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली संशोधन मस्यौदा तयार गर्दै उच्च व्यवस्थापकको नियुक्ति अवधि, ओभर टाइम (ओटी) गर्ने समय लगायत विषयलाई संशोधन प्रस्ताव गरेको हो ।

प्रस्तावित विनियमावलीअनुसार कुनै उच्च व्यवस्थापक पद खाली भएमा तीन महिनाभित्र अनिवार्य रूपमा नियुक्ति गरिसक्नुपर्नेछ । साथै कर्मचारीलाई सातामा २४ घण्टाभन्दा बढी ओभरटाइम (ओटी) काममा लगाउन नपाइने व्यवस्था पनि गरिएको छ ।

मस्यौदामा कर्मचारीको सेवा, सुविधा, नियुक्ति, बढुवा तथा कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने प्रस्ताव गरिएको छ । पदपूर्तिका लागि विज्ञापन बैंकको वेबसाइटमा समेत प्रकाशन गर्नुपर्ने तथा आन्तरिक बढुवामा कार्यसम्पादन मूल्याङ्कनलाई बढी महत्व दिनुपर्ने उल्लेख गरिएको छ ।

कर्मचारीले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने मुख्य चाडपर्वका अवसरमा एक महिनाको तलब बराबर चाडपर्व खर्च पाउने व्यवस्था मस्यौदामा छ । महिला कर्मचारीलाई ९८ दिनसम्म पूर्ण तलबसहित मातृत्व बिदा दिने तथा आवश्यक परे थप एक वर्षसम्म बेतलबी बिदा दिन सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।

त्यस्तै, प्रत्येक कर्मचारीलाई वर्षमा कम्तीमा सात दिन पूर्ण सुविधासहित अनिवार्य बिदा दिनुपर्ने, कार्यालयीय कामका क्रममा हुने दुर्घटनाका लागि अनिवार्य बीमा गर्नुपर्ने तथा ठगी, भ्रष्टाचार र अनियमिततासम्बन्धी सूचना दिन ह्विसलब्लोइङ प्रणाली लागू गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।

कार्यस्थलमा यौनजन्य दुर्व्यवहार रोक्न आचारसंहिता लागू गर्नुपर्ने तथा श्रम सम्बन्ध सुधारका लागि व्यवस्थापन र कर्मचारी प्रतिनिधि सम्मिलित श्रम सम्बन्ध समिति गठन गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त नमुना विनियमावलीको मस्यौदामाथि बैंक तथा वित्तीय संस्थासँग १५ दिनभित्र सुझाव माग गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १५:४७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।