काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रमा दुई दशकदेखि निरन्तर सक्रिय रहँदै आएका कलाकार कुसुम भण्डारी संगीत साधनासँगै कृषिमा पनि उत्तिकै समर्पित देखिएका छन् । करिब २० वर्षदेखि संगीत क्षेत्रमा सक्रिय भण्डारीले नेपाली लोकगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
सांगीतिक यात्रासँगै उनले कृषिलाई पनि आफ्नो जीवनको अभिन्न हिस्सा बनाएका छन्। व्यस्त सांगीतिक कार्यक्रम र सिर्जनाका बीच समय निकालेर कृषि कार्यमा संलग्न हुँदै आएका भण्डारीले उत्पादनमुखी कृषि अभ्यासलाई प्राथमिकता दिएका छन्। उनका अनुसार कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई आत्मसन्तुष्टि र समाजप्रतिको जिम्मेवारी पनि हो।
लोकगीतमार्फत नेपाली मौलिक संस्कृति, परम्परा र ग्रामीण जीवनका विषयलाई उजागर गर्दै आएका भण्डारीले कृषिमा युवाको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले कृषि र संगीत दुवै क्षेत्रलाई समान महत्व दिँदै आफ्नो अनुभवबाट अरूलाई पनि प्रेरित गरिरहेका छन्।
संगीत र कृषिलाई सँगसँगै अघि बढाउँदै आएका कुसुम भण्डारीको जीवनशैलीले श्रम, सिर्जना र आत्मनिर्भरताको सन्देश प्रवाह गरेको छ। कला र कृषि दुवै क्षेत्रमा उनको सक्रियताले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारिरहेको छ।
भण्डारी अन्य तिन जना स्थानिय युवाहरु संग मिलेर स्याङ्जाको गल्याङ नगरपालिका–९, गेझा स्थित मुरली एग्रो फार्म सञ्चालन गरिरहेका छन्। पशुपालन तथा दुग्ध उत्पादनमा केन्द्रित उक्त फार्मबाट दैनिक करिब ३०० लिटर दूध बिक्री हुने गरेको छ। कृषि र पशुपालनलाई व्यवसायिक रूपमा अघि बढाउँदै उनले आत्मनिर्भर कृषिको उदाहरण प्रस्तुत गरेका छन्।
स्थानिय रुपमा मौलिक तथा लोक भजन गायनमा समेत उनी सहित स्थानिय युवाहरुले माता सरस्वती भजन कृतन समुह संचालन गरि निरन्तर लागि रहेका उनले दोस्रो पुस्ताको रुपमा स्थानिय बालबालिकाहरुको समेत भजन समूह निर्माण गरेका छन् l उनको कला, योगदान र प्रतिभाको कदरस्वरूप २०७८ सालमा चर्चित सञ्चारकर्मी विद्या चापागाईंको लोकप्रिय टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा मा उनको संगीत र कृषि यात्राबारे विशेष कार्यक्रम प्रसारण गरिएको थियो। उक्त कार्यक्रम प्रसारण भएपछि देशभर उनको चर्चा थप बढेको थियो। संगीत र कृषिलाई सँगसँगै सफलतापूर्वक अघि बढाएको उनको जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको थियो।
कृषि व्यवसायमा व्यस्त हुँदाहुँदै पनि कलाकार कुसुम भण्डारीको सांगीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ। हालै उनले आफ्नै जीवनका भोगाइ, अनुभव र भावनामा आधारित नयाँ लोकदोहोरी गीत “मायालु जापानमा” सार्वजनिक गरेका छन्।
विदेशिएका जीवनसाथी, पारिवारिक विछोड, गाउँघरको यथार्थ र वैदेशिक रोजगारीले निम्त्याउने सामाजिक तथा भावनात्मक पक्षलाई समेटिएको उक्त गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं कुसुम भण्डारीकै रहेको छ भने गायिका सुनिता बुढाले स्वरमा साथ दिएकी छन्।
यथार्थपरक कथावस्तु र मौलिक प्रस्तुतीकरणका कारण गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ। कुसुम भण्डारीका अनुसार गीतमा आफ्नै जीवनका केही भोगाइ र समाजमा देखिएका वास्तविक घटनाहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
उक्त गीत ‘Kusum Bhandari’ YouTube Channel मार्फत हेर्न तथा सुन्न सकिनेछ। कृषिसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय भण्डारीले आगामी दिनमा समेत यस्तै मौलिक र सन्देशमूलक सिर्जना श्रोतामाझ ल्याउने तयारी गरिरहेका छन्।




















प्रतिक्रिया