काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि गृहमन्त्री गुरुङले मानसिक दबाब दिएको, ज्यान मार्ने धम्की दिएको तथा गम्भिर मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै आयोगमा उजुरी दर्ता गरिएको हो।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।
निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो । हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ ।
निवेदकहरूले उनीसँगै आएका व्यक्तिहरूले हिरासतभित्रै चरम मानसिक दबाब दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरेका छन् । कानुन हातमा लिएर थुनुवाहरूलाई आतंकित पारेको आरोप छ ।
निवेदनमा हिरासत कक्षजस्तो संवेदनशील स्थानमा राजनीतिक पदमा रहेका व्यक्तिको प्रवेशले कानुनी शासनको उल्लंघन भएको उल्लेख गरिएको छ । यस घटनाले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने, न्याय प्राप्त गर्ने तथा यातनाविरुद्धको अधिकारमाथि आघात पुगेको दाबी गरिएको छ ।
उजुरीकर्ताले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न, सीसीटीभी फुटेज सुरक्षित राख्न, प्रमाण नष्ट हुन नदिन र पीडितहरूको सुरक्षा सुनिश्चित गर्न आयोगले फास्ट ट्र्याक प्रक्रियामार्फत तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।






















प्रतिक्रिया