काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा हालसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको छ । बोर्डले कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको हो ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै वि.सं. २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी बक्यौता फछ्र्यौट भएको जानकारी दिएको हो ।
सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण र वित्तीय जोखिम संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ । बोर्डको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको र यसबाट सेवा प्रदायक तथा बीमित सेवाग्राहीहरूमा असहज परिस्थिति उत्पन्न भएको विषयप्रति बोर्ड पूर्ण रूपमा जानकार रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, बोर्डले बिमित सेवाग्राहीहरूलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सही सदुपयोग गर्न आग्रह गरेको छ । अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले अपिल गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बोर्डको भनाइ छ ।





















प्रतिक्रिया